विराटनगर २७ माघ । विराटनगरको दक्षिणी वडाका किसानहरु साढेका कारण निम्तिएको समस्याबाट पीडित भईरहेका छन ।
छाडा घुम्ने सांढेले लगाएको बाली खाली खाईदिने समस्या चुलिएपछि किसानहरुले एकदर्जन सांढेलाई बन्दी बनाएका छन । दुखगरि लगाएको बाली साढेहरुले खाईदिने समस्याबाट आजित भएका विराटनगर १८ भेडियारीका किसानहरुले एघारह वटा सांढेलाई बन्दी बनाएका छन । खेतहरुमा बाली चर्दै हिंड्ने साढेहरुलाई नियन्त्रणमा लिएर किसानले बन्दी बनाएका हुन ।
नियन्त्रणमा लिईएका सांढेहरुलाई भेडियारीमैे धरहवा पोखरीक्षेत्रमा थुनेर राखिएको छ । पोखरी क्षेत्रमा १० वटा र विराट राजा दरवार परिसरमा एउटा सांढेलाई राखिएको छ । नियन्त्रणमा लिईएका साढेहरुलाई किसानले पराल र पानीको ब्यवस्था भने गरिदिएका छन । विगतदेखी नै साढेले दुख दिंदै आएकाले केहि सिप नलागेर बाध्य भएर सांढेलाई नियन्त्रणमा लिनु परेको विराटनगर १८ का किसान शिवनन्दन यादवले बताउनुभयो ।
विराटनगर १८ मा बनेको आईसिपिले अधिकांश किसानका जग्गा अधिग्रहणमा परेको अवस्थामा थोरै बँचेको जग्गामा मिहनेतगरि लगाएको बाली समेत साढेले खाईदिनाले आफुहरु गम्भीर समस्यामा परेको स्थानिय पंकज यादवले बताउनुभयो ।
५ बर्षयता सांढेले बाली खाईदिने समस्या निम्तिएपछि त्यसबाट जोगिन किसानले अनेकौं उपाय अपनाउदै आएका छन । उनिहरु खेतको बिचमा टहरो बनाएर रातभरि सांढे धपाउन जागा समेत बस्दै आएका छन । यद्यपि उनिहरुको यस्तो उपायले समेत काम गरेन । बिग्घौ बिगहामा लगाईएको गहुँबाली सांढेले खाईदिएपछि किसानहरु एकत्रित भएर साढेलाई नियन्त्रणमा लिएका हुन ।
गाईबाट जन्मिने बाछी पाल्ने तर बाछालाई छाडा छाडिदिने परिपाटिका कारण असंख्य साढेको समस्या निम्तिएको स्थानिय राजदेव यादवले बताउनुभयो । सम्बन्धित निकायलाई गुहार्दा समेत सुनवाई नभएको उनको भनाई छ ।
विराटनगर १८ का वडाध्यक्ष जितेन्द्र साहले नियन्त्रणमा लिईएका सांढेलाई कहाँ लगेर राख्ने बिषयमा सल्लाह भईरहेको बताउनुभयो । उहाँले नगरक्षेत्रमा रहेको गौशालाले समेत सांढे जिम्मा लिन नमानेको बताउनुभयो ।
उता विराटनगर १४ मा रहेको श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले गौशालाले घाईते र अशक्त गाईहरुको संरक्षण र सेवागर्ने भएपनि दर्जन संख्याका साढेको ब्यवस्थापन गर्न सम्भव नहुने बताउनुभयो । उहाँले दाताहरुको सहयोगबाट गौशाला संचालनमा रहेपनि पछिल्लो समय राज्य तथा स्थानिय सरकारबाट कुनैप्रकारको आर्थिक सहयोग हासिल गर्न नसकेकोले गौशालाले सांढेको ब्यवस्थापन गर्न समस्या हुने बताउनुभयो ।
उहाँले साढे राख्दा यसअघि देखी संरक्षण गरिएका बृद्ध तथा विरामी गाईलाई थप समस्या हुने बताउनुभयो । साढेहरुले किसानका बाली खाईदिने मात्र नभई सोहि वडामा रहेको दमादिघी र लावाघाट क्षेत्रका ५ जनालाई घाईते समेत बनाएको स्थानियले जानकारी दिएका छन ।
नियन्त्रणमा लिईएका सांढेलाई महानगरको समन्वयमा कोशी टप्पु आरक्षमा लगेर छाडिनुपर्ने किसानहरुले सुझाव दिएका छन ।