विराटनगर २७ माघ । स्वतन्त्रता सेनानी तथा सामाजिक अभियन्ता तोरेन्द्रमान सिंहको स्मृतिमा प्रकाशन गरिएको ‘अविश्रान्त योद्धा तोरेन्द्रमान सिंह प्रधान’ नामक स्मृतिग्रन्थको लोकर्पण गरिएको छ ।

स्मृतिग्रन्थ प्रकाशक तोरेन्द्रमानसिंह फाउण्डेशनले विराटनगरमा आयोजना गरेको कार्यक्रमकाबीच कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले उक्त स्मृतिग्रन्थको लोकार्पण गर्नुभयो । फाउण्डेशनले सिंहको बहुआयामिक ब्यक्तीत्वका बिषयमा लेखिएको ५० वटा लेख संग्रहित स्मृतिग्रन्थ प्रकाशनमा ल्याएको हो ।

स्मृतिग्रन्थमा ४७ वटा नेपाली लेखका साथै दुईवटा अंग्रेजीमा र एउटा नेवारी लेख संग्रहित गरिएको छ । स्वर्गिय सिंहका बालसखा,राजनितिक ब्यक्तीत्व सहित सामाजिक अभियन्ताहरुले उहाँका बिषयमा लेखेका लेखहरु संकलनगरि स्मृतिग्रन्थ प्रकाशनमा ल्याईएको फाउण्डेशनका अध्यक्ष सुर्दशनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

स्मृतिग्रन्थको फाउण्डेशनका सल्लाहकार समेत रहनुभएका बौद्धिक दिनेश श्रेष्ठले सम्पादन गर्नुभएको छ भने सह–सम्पादकमा डाक्टर सम्झना प्रधान र भाषा सम्पादकमा गणेश बज्राचार्य रहनु भएको छ । पहिलो संस्करण ५ सय प्रति स्मृतिग्रन्थ प्रकाशनमा ल्याईएको फाउण्डेशनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्नुहुँदै प्रदेश प्रमुख खापुङले प्रजातन्त्र सेनानी सिंहले देखाउनुभएको बाटोलाई अंगिकार गरेर बेतिथिहरुसंग लड्दै अघि बढ्नसके उहाँको सपना साकार पार्न सकिने बताउनुभयो । कार्यक्रमकाबीच स्मृतिग्रन्थका सम्पादक श्रेष्ठ र भाषा सम्पादक बज्राचार्यलाई खादा,माला,दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको थियो ।

प्रदेश प्रमुख खापुङले उहाँहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा तोरेन्द्रमानसिंह फाउण्डेशनका संरक्षक ईन्दिरा प्रधान स्वर्गिय सिंहका बलसखा मुकुन्द नेपाल र समाजसेवी केदारमल तोदी लगायतको सहभागिता थियो ।

विराटनगर १० निवासी स्वतन्त्रता सेनानी सिंहको ९१ बर्षको उमेरमा २०७९ असोज ३ गते देहावसान भएको थियो ।

सम्बन्धित खबरहरु