विराटनगरमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ ।
५ नम्बर वडाकार्यालयको सहयोगमा नेपाल मिथिला सिप कलाद्वारा संचालन गरिएको ७ दिने चित्रकला प्रशिक्षण सम्पन्न भएको हो । चाँदनीचोकस्थित चित्रगुप्त मन्दिर परिसरमा संचालन गरिएको चित्रकला तालिममा १५ जना स्थानिय महिलाहरु सहभागि भएका थिए ।
सहभागिलाई मिथिला चित्रकलाका प्रशिक्षक रिम्मी चौधरीले प्रशिक्षण दिनुभयो । तालिमको क्रममा सहभागिलाई मिथिला चित्रकलासंग सम्बद्ध कोहबर,अरिपनका चित्र कोर्नुका साथै चित्र तथा आकृति निर्माणगरि त्यसमा रंग संयोजनका विविध पक्षहरु सिकाईएको नेपाल मिथिला शिप कलाका अध्यक्ष शिला चौधरीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्नुहुँदै ५ नम्बरका वडाध्यक्ष सन्तोष न्यौपानेले मिथिला चित्रकला प्राचीन बिशिष्ठ कला रहेकाले त्यसको संरक्षण तथा प्रर्बधनका निम्ति वडा कार्यालयको सहयोगमा तालिम संचालन गरिएको बताउनुभयो । मैथिल संस्कृतिका जानकार प्रवीणनारायण चौधरीले मानव जीवनको कल्याण मिथिला चित्रकलामा परिलक्षित हुने गरेकाले यस्को संरक्षण आवश्यक रहेको बताउनुभयो ।
चित्रगुप्त मन्दिर समितिका अजय कर्णले आगामी दिनमा यो कलालाई प्रर्बधनगर्न स्थानिय सरकारले थप लगानी गर्नुपर्ने माग गर्नुभयो । सो अवसरमा तालिममा सहभागि प्रशिक्षार्थीलाई वडाध्यक्ष न्यौपाने र वडा सदस्य अंजु दाहाल लगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।
मंसिर ९ देखी १५ गतेसम्म तालिम आयोजना गरिएको थियो ।