विराटनगर १० मंसिर । क्रिकेट खेलको प्रर्बधन गर्दै आएको बेलायतको क्रिकेट विदाउट बाउन्डरी भोलेन्टियर्सले विराटनगरस्थित सामुदायिक विद्यालयका छात्रा खेलाडीहरुलाई सहयोग गर्ने भएको छ ।

क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष देखी काम गर्दै आएको नेपाल क्रिकेट फाउन्डेसनसँगको सहकार्यमा बाउन्डरीले खेलाडीहरूलाई खेल सामाग्री तथा प्रशिक्षण दिने जनाइएको छ । सो संस्थाले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा खेलाडीहरूलाई सहयोग गर्न लागेको जनाईएको छ ।

खेलाडीहरुलाई प्रशिक्षण दिन बेलायत सहित विभिन्न देशबाट विराटनगर आईपुगेको भोलेन्टियर्सका ६ जना प्रशिक्षक तथा कोचहरुलाई परिचयात्मक कार्यक्रम गराउदै फाउन्डेशनले सो बिषयमा जानकारी गराएको छ । क्रिकेट विदाउट बाउन्डरीले महिला खेलाडी उत्पादन गर्न दुई वर्ष देखि कोशी प्रदेश र मधेस प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा बोल्नुहुँदै आईसिसि मास्टर एडुकेटर सारा बेगले क्रिकेट विदाउट बाउण्डरीले छात्राहरुलाई क्रिकेटमा प्रोत्साहनगर्न ग्रासरुटमा पुगेर काम गरिरहेको बताउनुभयो । विराटनगरका ४ वटा विद्यालयमा फाउन्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ ।

फाउण्डेशनले सरस्वती माध्यमिक विद्यालय, वालिका, महेन्द्र र सत्यनारायण स्कुलका बिद्यार्थीहरुलाई प्रशिक्षण तथा प्रोत्साहन गरिरहेको छ । उक्त दुई संस्थाले इटहरी, धरान, धनकुटाका केही विद्यालयहरूका साथै मधेश प्रदेशमा पनि सहयोग गरिरहेको जनाईएको छ । विद्यार्थीहरुलाई प्रशिक्षण दिन आईसिसिका कोच,प्रशिक्षक तथा एम्पायरहरु सारा बेग,काजल भाईजाल,रोब बेले,साकिब मिन्हास,योलान्डा हैरिस र एलिमेक क्रिडीहरु विराटनगर आईपुगेका छन ।

उनिहरुले मंसिर १० गतेखि २३ गतेसम्म लागि कोशी प्रदेशको विराटनगर,इटहरी,धरान, धनकुटा तथा मधेश प्रदेशको राजविराज, लहान र कल्याणपुरका छात्राहरुलाई क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने जनाईएको छ ।

सम्बन्धित खबरहरु