विराटनगर । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विश्व पर्यटन दिवसको सन्दर्भ पारेर कोशी प्रदेशमा क्रियाशिल पर्यटन तथा होटल सम्बद्ध विभिन्न संघसंस्थाले भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई स्वागत सम्मान गरेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको पर्यटन तथा हवाई यातायात समिति, होटल एशोसिएसन,नाटा,होटल ब्यवसायि महासंघ र विराटनगर एशोसिएसन अफ ट्राभल एजेन्ट बाटाले पर्यटन दिवसको अवसरमा आगन्तुकलाई स्वागत कार्यक्रम गरेका हुन ।
आयोजक संस्थाका पदाधिकारीले रानी सिमाना हुँदै बुधबार बिहान विराटनगर प्रवेश गर्ने भारतीय पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत गरेका थिए । नेपाली सिमाक्षेत्र प्रवेश गर्ने वित्तिकै न्यानो स्वागत पाएपछि आगन्तुक समेत हर्षित भएका थिए ।

जोगबनी बोर्डरहुँदै दैनिक हजार बढी भारतीयहरु नेपाल प्रवेश गर्ने गरेको पर्यटन तथा हवाई यातायात समितिका सभापति भविशकुमार श्रेष्ठले जानकारी दिनुभयो । जोगबनीको बाटो हुँदै नेपाल प्रवेश गर्ने अधिकांश उपचारकालागि आउने गरेपनि उनिहरुको बसाईलाई लम्ब्याउन सके लाभदायक हुने श्रेष्ठले बताउनुभयो ।
भारतीय क्षेत्रबाट नेपाल आउने पर्यटकको बसाई लम्ब्याउन प्रदेश भित्रका पर्यटकियस्थलहरुको प्रचारप्रसार गर्नूका साथै पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्नेमा ब्यवसायिहरुले जोड दिंदै आएका छन ।
पर्यटकहरु नेपाल प्रवेश गर्ने क्रममा बोर्डरमा चेक भएपछि पनि विभिन्न ठाउँमा रोकेर चेकजाँच गर्ने गरिएकाले आगन्तुकहरु हतोत्साहि हुने गरेको रानीका स्थानिय समेत रहनुभएका युवा नेता राजेश कुमार गुप्ताको भनाई छ ।
सन १९८० देखि सेप्टेम्बर २७ का दिन संसारभरि विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।





