विराटनगर ३ भदौ । सूचनाको हकका अभियन्ता तथा सञ्चारकर्मीहरुले सहजरुपमा सूचना उपलब्ध गराउनुपर्ने माग गरेका छन ।

१७ औं राष्ट्रिय सूचना दिवसको सन्दर्भ पारेर अभियन्ता तथा संचारकर्मीहरुले सो बिषयमा कोसी प्रदेशका मन्त्रालयहरुमा खबरदारी समेत गरेका छन । अभियन्ता र संचारकर्मीको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, कृषि तथा सहकारी लगायतका मन्त्रालयहरुमा खबरदारी गरेका हुन ।

सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ सहित पत्रकारहरु किशोर बुढाथोकी,चुमन बस्नेत, नवीन कर्ण तथा सोनुकुमार दास समेतको समूहले खबरदारी गरेको हो । सो क्रममा ‘सूचनाको अधिकार, विकास र समृद्धिको आधार, ‘नागरिकलाई सूचना दिन्नभन्ने सूचना अधिकारीलाई कारबाही गर, ‘सूचनाको स्वतन्त्रता कायम गर, ‘लोकतन्त्रको प्राणवायु नै सूचनाको हक’ लगायतका नारा लेखिएको टोपी लगाएर उनीहरु मन्त्रालयमा पुगेका थिए ।

सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विभिन्न मन्त्रालयका सूचना अधिकारीहरुसंग सामुहिक छलफल समेत भएको थियो । छलफलमा सहभागि अभियन्ता तथा संचारकर्मीले प्रदेश सरकारका मन्त्रालयहरुबाट सूचना दिन आलटाल गर्ने र समयमा सूचना नदिने लगायतका समस्या झेल्नुपरेको बताएका थिए ।

प्रत्युत्तरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सचिव माधवप्रसाद पोखरेल, अर्का सचिव ईश्वरकुमार गिरीलगायतले नेपालको संविधानले सूचनाको हकलाई महत्वपूर्ण मौलिक हकका रूपमा स्वीकार गरेका कारण माग गरिएको सूचना समयमै उपलब्ध गराइने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अभियन्ताहरुले विभिन्न मन्त्रालयमा सूचना माग गर्दै १८ वटा निवेदन समेत दर्ता गराएका छन ।

नेपालको संविधानको धारा २७ को कायान्वयनका लागि जारी भएको सूचनाको हक सम्बन्धी ऐन, २०६४ लागू भएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा प्रत्येक वर्ष मनाउने गरिएको छ ।

सम्बन्धित खबरहरु