विराटनगर १ भदौ । यहि भदौ २१ गते विराटनगरमा आयोजनाहुने श्रीराधाकृष्ण रथयात्रा सम्पन्नगर्न ५०१ सदस्यिय मुल समारोह समिति सहित १८ वटा उपसमितिहरु गठन गरिएको छ ।
विराटनगर १ मा रहेको श्रीराधाकृष्ण मन्दिर समितिले शुक्रबार प्रारम्भिक धार्मिक सभागर्दै नवगठित समितिहरुको घोषणा गरेको हो । यसपल्टको रथयात्रा सम्पन्नगर्न मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा ५०१ सदस्यिय मुल समारोह समिति गठन गरिएको छ ।
यसैगरि विभिन्न बिषयगत १८ वटा उपसमितिहरु समेत गठन गरिएको छ । ५०१ मुल समारोह समितिमा मन्दिर कार्यसमिति,ब्यवस्थापन समिति,आजीवन सदस्य,विभिन्न संघसंस्थाका पदाधिकारी तथा धर्मानुरागीहरुलाई समेटिएको छ ।
१८ उपसमिति मध्ये रथ तथा मन्दिर श्रृंगार उसमितिमा आनन्द जाजु संयोजक,प्राबिधिक संयोजकमा दिपक प्रधान,ब्राह्मण ब्यवस्थापन संयोजकमा पण्डित भवानी शंकर निरौला,प्राथमिक उपचार संयोजकमा मीना जोशी र सुपरीवेक्षणमा मोहन भट्टराईलाई संयोजक तोकिएको छ ।
यस्तै रथ संचालन तथा झाँकी ब्यवस्था संयोजकमा सुरेश जायसवाल,पुरुष स्वयंसेवक संयोजकमा सन्तोष महत (सेन्ट्रो) सहसंयोजक विकास जि.सी,महिला स्वयंसेविका संयोजक अन्जना थापा तथा सह–संयोजक अंजु गुप्तालाई तोकिएको छ ।
प्रचार प्रसारमा पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल र सह–संयोजकमा पत्रकार नवीन कर्ण, प्रसाद ब्यवस्थापनमा मारवाडी यूवा समिति,पिउने पानी ब्यवस्थापनमा सेवक बजरंग दल,विद्युत ब्यवस्थापनमा मोहन प्रसाद गिरी र सडक लोक सांस्कृतिक संयोजकमा ओमप्रकाश राठीलाई तोकिएको छ ।
यसैगरि फोहोर ब्यवस्थापनमा संयोजक पुनम दाहाल,सह–संयोजकमा जय देवकोटा,सोशल मिडियामा अभिषेक भट्टराई,विराटनगर महानगरपालिकाबाट समन्वयकालागि अर्जुन थपलिया र पुनम दाहाल,अध्ययन तथा अनुसन्धान उपसमितिमा शंकर खरेल र नगर श्रृंगार संंयोजकमा दिपक अग्रवाललाई जिम्मेवारी दिईएको छ ।
मन्दिर ब्यवस्थापन समितिका कार्यवाहक सभापति लिलानाथ बराल,विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की,मोरङका साहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह,जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपक पोखरेल लगायत मन्दिर समितिका पदाधिकारी र सहयोगिहरुको सहभागितामा धार्मिक सभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्नुहुँदै मुल समारोह समितिका अध्यक्ष रेग्मीले भब्य र सभ्यरुपमा रथयात्रा सम्पन्नगर्न तयारी शुरु गरिसकिएको बताउनुभयो । कार्यक्रममा बोल्दै साहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले रथयात्राले संसारभरि प्रसिद्धि पाएकाले गरिमा जोगाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले रथायात्रामा सहभागि हुँदा बहुमुल्य गरगहना नलगाई सहभागि हुन आग्रह गर्नुभयो ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले यसपल्टको रथयात्रामा देशभरिका महानगरपालिका र उपमहानगरपालिका प्रमुखका साथै भारतका विभिन्न शहरका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको बताउनुभयो ।
मन्दिर ब्यवस्थापन समितिका कार्यवाहक सभापति लिलानाथ बरालले रथयात्राको ८० बर्ष बढीको गरिमा कायम राख्न सबै पक्षको सहयोग र सदभाव आवश्यक रहेको बताउनुभयो । विक्रमसम्बत १९८८ सालमा शुरु भएको खटयात्रालाई २०२५ सालमा रथयात्रामा रुपान्तरण गरिएको थियो ।
विराटनगरको यो रथयात्रा एशियाकै दोश्रो ठुलो रथयात्राको रुपमा स्थापित छ । नेपाल,भारत तथा तेश्रो मुुलुकका श्रद्धालु समेत रथयात्राको अवलोकन गर्न आउने गर्छन ।