प्रविधी र पूर्वाधार विकासका सिपाही मानिने प्राविधिक जनशक्ति इन्जिनियरहरुले देशभर आफ्नो सांगठिनक दिवस मनाएका छन् ।
यस अवसरमा इन्जिनियरिंग पेशाको मर्यादा र हकहित संरक्षणका निम्ति संगठित रहेको ” नेपाल इन्जिनियर्स एशोसिएसन ” ले आफ्नो स्थापना दिवसमा कोशी प्रदेश संगै देशभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
” आर्थिक उन्नतीको आधार, प्रविधी र पुर्वाधार ” भन्ने नाराका साथ मनाइएको यसपालीको इन्जिनियरिङ्ग दिवसको अवसरमा कोशी प्रदेश समितीले एकदिने फुटसल प्रतियोगिता, रक्तदान, खद्दान वितरण संगै प्रशिक्षण तथा प्रदर्शनी जस्ता कार्यक्रमहरुको आयोजन गरेको जानकारी एशोसिएसनका प्रदेश कार्यसमिती सदस्य समेत रहेका कार्यक्रम संयोजक ई अविनाश ठाकुरले दिएका छन् ।
प्रदेशभरीमा कार्यरत इन्जिनियरहरुको दक्षता अभिबृद्धी संगै पेशा प्रति जवाफदेही बनाउन पनि यि कार्यक्रमहरु प्रभावकारी हुने एशोसिएसनका प्रदेश सभापती ई जयनाथ यादवको कथन छ । सम्बन्धीत क्षेत्रका आफ्ना वर्षभरिको अनुभव साटासाट गर्न सकिने अभिप्रायले नै भेला आयोजन गरिएको उनको तर्क थियो ।
यसले आपसी सद्भाव संगै पेशा प्रतिको विश्वास पैदा गर्नुको साथै जिम्मेदारी बहनमा हौसला प्राप्त हुने उनको अनुमान छ । विभिन्न प्राविधिक विषयक कार्यशाला गोष्ठीहरूको आयोजन वर्षभरि नै हुने गरेको पनि सभापती यादवले बताएका छन् ।विभिन्न चरणका कार्यक्रम पछि मंगलवार त्रिदिवसीय कार्यकमको समापन गरिएको छ ।
समापन सभाका प्रमुख अतिथि प्रदेश सरकारका मन्त्री माननीय श्री प्रदिप सुनुवार थिए भने प्रदेश सरकारका उच्च पदस्थ कर्मचारी , कलेजका प्राचार्य प्रध्यापक संगै अध्ययन अनुसंधान तथा अध्यापनमा संलग्न इन्जिनियरहरूको उल्लेख्य सहभागीता रहेको थियो ।