विराटनगरको सिंघीया खोलामा आएको बाढीका कारण सयौं परिवार विस्थापित भएका छन । अविरल बर्षापछि आएको बाढीका कारण खोला किनारका बासिन्दा विस्थापित भएका हुन ।
अविरल बर्षापछि आएको बाढीका कारण विराटनगर महानगरपालिकाको सिंघीया खोला किनारका बासिन्दाको घरआँगनमा बाढीको पानी प्रवेश गरेको छ । शुक्रबार बिहानैदेखी खोलाको जलस्तर बढदै गएर सुकुम्बासी परिवारका घरहरुमा बाढीको पानी प्रवेश गरेको छ । लगातार बाढीको जलस्तर बढदै गएपछि उनिहरु घरभित्रका सरसामान लिएर सुरक्षित स्थानतर्फ लागेका छन ।
बाढीको पानी प्रवेश गरेपछि विराटनगर १ को गंगाटोल र विराटनगर २ को सुकुम्बासी टोलका सय बढी घरपरिवारका बासिन्दा अन्यत्र सरेका छन । बाढीका कारण बालबालिका र ज्येष्ठ नागरीक सबभन्दा बढी प्रभावित भएका छन । सिंघीया खोलामा बाढी आएपछि विराटनगर महानगरपालिकाको तटियक्षेत्रका अन्य सुकुम्बासी टोलबस्ती समेत डूबानमा परेका छन । पहिल्यै देखी सर्तकता नअपनाएका कारण अकस्मात पशुधन र मालसामान लिएर अन्यत्र सुरक्षित स्थानमा सर्नुपर्ने भएपछि पीडितहरु थप समस्यामा परेका छन ।
अचानक बासस्थान छाडेर अन्यत्र सर्नुपरेपछि भाडाको घर पाउन समस्या भएको विराटनगर २ का दिनेश सहनीले बताउनुभयो । खोला किनारको घरबाट सरसामान सहित निस्किएका सुकुम्बासी परिवार ठेला र टेम्पुुमा त्रिपालले छोपेर आफ्ना सामान सुरक्षित गर्ने प्रयास गरिरहेका छन ।
लगातार पानी परिरहेका कारण उनिहरुलाई खानपिनको समेत समस्या भएको छ । बालबालिकाहरु भोकभोकै बस्नुपर्ने अवस्था सृजना भएको छ । अधिकांश परिवार दैनिक ज्याला मज्दुरी गर्ने वर्गका रहेपनि उनिहरु आफ्नो रोजगारीमा जान सकेका छैनन । महानगरपालिकाको तटियक्षेत्रमा प्रत्येकबर्ष बाढी र डूबानका घटनाहरु दोहरिने गरेको छ ।
यो समयमा राहत उद्धारका केहि कार्यक्रमहरु संचालन गरिनुका साथै तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थायि स्थानान्तरणगर्ने चर्चाहरु समेत चल्ने गरेको छ ।तर ब्यवहारिकरुपमा आजसम्म त्यो योजनाले मुर्तरुप पाउन सकेको छैन ।