जहदा गाउँपालिकाका एकजना युवाको खोलामा डूबेर मृत्यू भएको छ ।
जेठ २७ गते साँझ स्थानिय जुडी खोलामा नुहाउन हाम्फालेका जहदा ३ हाथिबन्दाका २२ बर्षिय गणित राजवंशी डुबेर बेपत्ता भएका थिए । फुटबल खेलेर फर्किएका राजवंशी नुहाउन भनेर बुधबार साँझ साढे ४ बजे खोलामा प्रवेश गरेको स्थानियले बताएका छन । अन्य तिनचारजना साथी संगै बाढी आएको खोलामा प्रवेश गरेका गणित भने डुबेर बेपत्ता भएका थिए । उनि बेपत्ता भएसंगै स्थानियवासी र प्रहरीले खोलामा खोजतलास जारी राखेका थिए । बिहीबार दिउँसो साढे ३ बजे उनको शव खोलामा हाम्फालेको स्थान भन्दा २५ मिटर दक्षिणतर्फ भेटिएको छ ।
डुबेका युवा गणित विराटनगरकै एक क्याम्पसमा अध्ययन गर्दै आएका थिए भने विराटनगर १ को राधाकृष्ण माध्यमिक विद्यालय सामुन्ने रहेको मोटरसाईकल ग्यारेजमा मेकेनिकको काम समेत गर्दै आएका थिए । हाथिबन्धाका बिजय राजवंशीका दुई छोरामध्ये गणित जेठो रहेको स्थानियले जानकारी दिएका छन । जहदा ३ का वडाध्यक्ष अनिल ठाकुरले तालिम प्राप्त प्रहरी टोलीको अथक प्रयासले मृतकको शव फेला पार्न सकिएको बताउनुभयो ।
डूबेका युवाको खोजीगर्न सशस्त्र प्रहरी बल,नेपाल नम्बर १ बराह बाहिणी मुख्यालयबाट सई रमेश बोहराको कमाण्डमा ६ जना गोताखोर र विपद ब्यवस्थापन तालिम प्राप्त थप ४ जनागरि १० जनाको टोली खटिएको थियो । यस्तै बिओपी भुटहाबाट सई तिलक प्रसाद न्यौपानेको कमाण्डको टोली र स्थानिय प्रहरी टोली समेत खटिएको थियो ।
गोताखोरहरुको टोलीले खोलाक्षेत्रको साढे २ किलोमिटर दुरीसम्म खोजतलास गरेका थिए । दोश्रो पटकको प्रयासमा भने युवकले जुत्ता खोलेर खोलामा हाम्फालेको नजिकै उनको शव भेटिएको खोज तथा उद्धारमा खटिएका गोताखोर बिनोद बस्नेतले जानकारी दिनुभयो ।
शव भेटिएपछि मृतकका आफ्न्तमा रुवाबासी चलेको थियो भने सिंगो गाउँबासी शोकाकुल देखिन्थे । मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।