मोरङ । असार १५ यता निरन्तर परेको पानीले मोरङका किसानकालागि रोपाईको वातावरण सृजना गरिदिएको छ ।

अधिकांश किसानहरु सिंचाईको सुविधा बाहिर रहेकाले आकाशे पानीको भरमा खेती गर्नेहरुकालगि पछिल्लो बर्षाले रोपाईको वातावरण तयार भएको हो । कटहरीका अधिकांश किसान यतिखेर खेत जोत्न,सम्याउन र रोपाईकालागि तयारगर्न तल्लिन भएका छन ।

कटहरी जमटोकीका छेबधरन सरदार ४ बिग्घा क्षेत्रफलमा धान खेतीगर्दै आएका छन । यतिखेर उनि ट्रयाक्टर लगाएर खेत जोताउन र आली सम्याउने काम गरिरहेका छन । आफुहरु आकाशे पानीको भरमा खेती गर्दै आएकाले पानी परेसंगै रोपाईको माहौल बनेको उनको भनाई छ । आउदो एकसाता भित्र रोपाई सक्नेगरि कृषिकर्ममा जुटेको छेबधरनले बताएका छन ।

कटहरी महेशपुरकी लक्ष्मी माझी ३ बिगहामा धान खेती गर्दै आएकी छिन । एक्लैले ३ बिगहाको खेतीगर्न नसक्ने भएपछि उनले २ बिगहा अधियामा र १ बिगहा आफैले खेती गर्दै आएकी छिन । खेतमा आवश्यकता भन्दा बढी पानी जमेकाले त्यसलाई निकास सगरेर आउदो केहिदिनभित्रै रोपाईगर्ने माझीले बताएकी छिन ।

कटहरीका अधिकांश किसानहरुको खेतमा रोपाईकालागि धानको बिउ तयार अवस्थामा छ । बिउ छरेको २३ दिनपछि धानको बिउ रोपाईकालागि तयार हुन्छ । यसपटक बिगतको तुलनमा सहजरुपमा मलखाध पाईएको किसानहरुले बताएका छन । असार १५ बितिसक्दा बल्ल आफुहरु रोपाईको तयारी गरिरहेको महेशपुरका अर्का किसान देवनारायण राजवंशीले बताएका छन ।

आकाशे पानीको भर पर्नु पर्ने भएकाले अब रोपाईको तयारी गरिरहेको राजवंशीको भनाई छ । धान मुलुकको प्रमुख कृषि उत्पादन हो । देशभरिको कुल १ करोड ४७ लाख १८ हजार हेक्टर क्षेत्रफल मध्ये १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । मुलुकलाई कृषि प्रधान देश समेत भन्ने गरिएको छ । यद्यपि सरकारको प्राथमिकतामा किसान नपर्ने गरेको कटहरीका कृषि ब्यवसायी डम्मर बहादुर भण्डारीको भनाई छ ।

पानी,मल र बिउको प्रारम्भिक उपलब्धताका कारण यसपटक अधिकांश किसानले समयमैं रोपाई सम्पन्नगर्ने अपेक्षा गरिएको छ । यद्यपि धानको उब्जनी आगामी दिनमा मलको उपलब्धता तथा आकाशे पानीमा भर पर्नुपर्ने हुन्छ ।

सम्बन्धित खबरहरु