विराटनगर १५ असार । ग्रामथान गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले ३ दिनभित्र तलब भत्ता निकासा नगरे पालिकाभित्रका सम्पुर्ण स्वास्थ्य संस्था बन्दगर्ने चेतावनी दिएका छन ।
फागुन महिनायता तलब भत्ता नपाएका उनिहरु तत्काल तलबभत्ता निकासा गर्र्न माग समेत गरेका छन । ४ महिनासम्म तलब भत्ता नपाएका कारण आफुहरुको दैनिक जीवनयापनमा समस्या भएको उनिहरुले बताएका छन । सो बिषयमा ग्रामथान गाउँपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएका छन ।
स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मोरङका साहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहलाई सो बिषयको ज्ञापनपत्र हस्तान्तरण गरेका छन । ल्याब टेक्निसियन विमल अधिकारीले साहायक प्रमुख जिल्ला अधिकारी साहलाई अर्थ मन्त्रालयलाई सम्बोधन गरिएको ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । ग्रामथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार झाले तलब भत्ता नपाएका कारण स्वास्थयकर्मीहरुको बिजोग भएको बताउनुभयो ।
उहाँले सम्बन्धित निकायमा पटकपटक अनुरोध गर्दापनि स्वास्थ्यकर्मीले तलब पाउन नसकेको बताउनुभयो । अर्थ मन्त्रालयलाई पठाइएको ज्ञापनपत्रमा ३ दिनभित्र तलबभत्ता उपलब्ध गराउनुपर्ने अन्यथा पालिकाभित्रका सम्पुर्ण स्वास्थय संस्था बन्दगरि विरामीलाई प्रदानगर्ने सबै सेवा बन्द गर्ने चेतावनी दिइएको छ ।
ग्रामथान गाउँपालिकाका अन्र्तगतका विभिन्न स्वास्थ्य संस्थामा ६८ जना स्वास्थयकर्मी कार्यरत रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार साहले जानकारी दिनुभयो । उहाँले कार्यरत स्वास्थयकर्मीमध्ये ४२ जना दरबन्दीका र २६ जना फाजिलका रहेको बताउनुभयो । पालिकाले यसअघि नै फाजिलका २६ जना कर्मचारी फिर्ताको निर्णय गरेर पठाएपनि सम्बन्धित मन्त्रालयले पुस ८ गते यथावत राखेर काममा लगाउन निर्देशन दिएको बताउनुभयो ।
स्वास्थयकर्मीको तलबभत्ता निकासाका निम्ति पालिकाले स्वास्थ्य मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयमा लिखित तथा मौखिक पहलगर्दै आएको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिनुभयो ।
उक्त पालिकाका स्वास्थ्यकर्मीहरुले ४ महिनाको १ करोड ९६ लाख रुपैया तलबभत्ता पाउन बांकी रहेको जनाईएको छ ।