विराटनगर । १७ औं जातीय छुवाछुत तथा भेदभाव उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आईतबार विराटनगरमा दुसाध जातीको सांस्कृतिक झाँकी प्रर्दशन गरिएको छ ।

विराटनगर ६ मा रहेको राजा सल्हेस थान परिसरबाट झाँकी शुरु भएको थियो । दुसाध जातीले सल्हेसलाई आफ्ना कुल देउतकोरुपमा पुजाआजा गर्दै आएका छन । दलित समाज विकास केन्द्रको आयोजनामा निकालिएको झाँकीले झाँकीले शनिमन्दिर रोड,कोशी अस्पताल,देवकोटाचोक हुँदै रामजानकी मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।

झाँकीमा दुसाध समुदायका साथै अन्य दलित समुदायका मानिसहरुको समेत सहभागिता थियो । झाँकी शुरु हुनुअघि सल्हेस थानमा भेला भएका समुदायका मानिसहरुले पारम्परिक महराई र भगत गित गाएर देउता सल्हेसको आराधना गरेका थिए । सरौचियाबाट निस्किएको झाँकी रामजानकी सेवा सदनमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्नुहुँदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले समाजबाट अझपनि छुवाछुत अन्त हुन नसकेको बताउनुभयो । उहाँले शहरी क्षेत्रमा देखिनेगरि छुवाछुतको भेदभाव नरहेपनि ग्रामिण भेगहरुमा अझपनि छुवाछुतको विभेद कायम रहेको बताउनुभयो । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भएपनि ब्यवहारिकरुपमा त्यो कायम हुनसकेको उहाँले बताउनुभयो ।

प्रमुख कोईरालाले बितेको बर्ष देभरिमा १५० जना छुवाछुतबाट पीडित भएको तथ्यांक बाहिरिएको समेत जानकारी दिनुभयो । आयोजक दलित समाज विकास केन्द्रका अध्यक्ष उत्तम पासवानले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भएपनि पुरातनबादी मानसिकता परिर्वतन हुन नसकेका कारण समाजमा अझपनि छुवाछुतको विभेद कायम रहेको बताउनुभयो ।

कार्यक्रममा आयोजक दलित विकास समाज केन्द्रका सचिव बिजय पुर्कुटी,बुद्धिजीवि बद्री पासवान सदस्यहरु दिपक पासवान,पिन्टु मोची र सन्तोष पासवान सहित समुदायका महिला पुरुष सहित सबै बर्गका मानिसहरुको सहभागिता थियो ।

२१ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

सम्बन्धित खबरहरु