विराटनगर । नेपाल र भारतबीच कार्गो रेल सेवा शुरु भएको छ । नेपाली उद्योगकालागि कच्चा पदार्थ लोड लोड गरिएको मालवाहक रेल जेठ १८ गते दिउसो डेढ बजे विराटनगर आईपुगेको छ ।
४ दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको थियो । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवाको उदघाटन गर्नुभएको थियो ।
विराटनगर १८ स्थित नेपाल रेलयार्डमा रेल आईपुग्दा नेपाल तथा भारतका झण्डा बोकेका विद्यार्थी सहित ब्यापारी र सर्वसाधारणले उत्साह पुर्वक रेलको स्वागत गरेका थिए । यसअघि कयौं पटक परीक्षणको क्रममा रेलयार्ड सम्म रेल आएको भएपनि नेपाली उद्योगकालागि कच्चा पदार्थ सहित पहिलोपटक कार्गो रेल विराटनगर आईपुगेको हो । मालवाहक रेलले पहिलो खेपमा आरती स्ट्रिप्सकालागि ४३ ¥याक स्पन्ज आईरन बोकेर ल्याएको छ ।
मालवाहक रेलको आगमन शुरु भएपछि ब्यवसायिहरु उत्साहित भएका छन । ट्रकबाट गरिने ढुवानी भन्दा रेलको भाडा सस्तो हुने भएकाले उद्योगी ब्यवसायि र उभोक्ता सबै लाभान्वित हुने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाई छ ।
बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव १ किलोमिटर रेल्वेको निर्माण सन २०११ मा सुरु भएको थियो । जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ । बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ । करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहण सम्बन्धी विवादका कारण काम हुन नसकेको हो ।
यस आयोजनाको कूल लागत ३ अर्ब ७३ करोड भारतीय रुपैयाँ रहेको जनाईएको छ ।