कटहरी । लामो समयको विवादपछि कटहरी गाउँपालिका वडानम्बर ४ कार्यालय भवनको उद्घाटन भएको छ ।
वडानम्बर ४ का लागि २०७७ सालमै नयाँ भवन निर्माण गरिएको भएपनि साबिकको स्थानबाट वडा कार्यालय सार्ने बिषय विवादित भएपछि तनाव उत्पन्न भएको थियो । यसअघि भाडाको घरबाट वडा कार्यालय संचालन गरिएकै ठाउँबाट सेवा संचालन गर्नुपर्ने भन्दै वडाका पुर्वतर्फका बासिन्दाले अवरोध गरेपछि वडाध्यक्ष जिवनेश्वर यादवले समेत वडा कार्यालय सार्न मानेका थिएनन ।
अवरोधकैबीच गाउँपालिकाले वितेको चैत १३ गतेबाट कटहरीको चमराहीमा निर्माण गरिएको नयाँ भवनबाट वडा कार्यालयको सेवा शुरु गर्न निर्देशन दिएको थियो । सम्पुर्ण भौतिक पुर्वाधार जुटाएर नयाँ भवनबाट कार्यालय संचालनमा ल्याइएपनि सम्बन्धित वडाका वडाध्यक्ष यादव कार्यालय नगई बाहिरैबाट सेवा प्रवाह गर्दै आएका थिए ।
पछिल्लो समय वडाध्यक्ष समेतले सहमति जनाएपछि बुधबार नयाँ भवनको औपचारिक उद्घाटन गरिएको हो । यद्यपि स्थानियले साबिकको वडा कार्यालयमा ताला लगाईदिएका कारण पुराना कागजपत्रहरु साबिककै भाडाको भवनमा राखिएको छ ।
भवन उदघाटन कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरी साबिकको भवनबाट छिट्टै कागजपत्र ल्याउने वातावरण बनाईने बताउनुभयो । सो अवसरमा वडा कार्यालय भवन निर्माणकालागि २ कट्ठा ११ धुर जग्गा दानमा दिने विराटनगर ७ का निलम निरौलालाई सम्मान गरिएको थियो ।
कटहरीका अध्यक्ष चौधरी र उपाध्यक्ष सितादेवी राजवंशीले निरौलालाई कदर पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो ।