विराटनगर । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले मैथिली भाषाको बुलेटिन प्रकाशन गर्ने तैयारीमा रहेको बताउनुभएको छ ।
मैथिल सञ्चारकर्मी संघ नेपालले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै झाले यस्तो बताउनुभएको हो । उहाँले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने तैयारी गरिरहेको जानकारी दिनुहुँदै त्यसले मैथिली भाषाको विकास र प्रशारमा मदत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
अध्यक्ष झा ले राससले बुलेटिन प्रकाशनको तयारी गरिरहेपनि मैथिली भाषामा पर्याप्त पत्रपत्रिकाहरु नरहेकाले अभियानी तथा संघसंस्थाहरु ले संचार माध्यम र संचार गृहहरु संचालन गरेर छापा तथा अनलाईन मिडियाहरु संचालन गर्न सुझाव दिनुभयो ।
अध्यक्ष झाले राजनीतिक नेतृत्वले समेत आफ्नो मातृ भाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान रहने गरेको बताउनुहुँदै भाषा नै ज्ञानको प्रशारक समेत हुने गरेको धारणा राख्नुभयो ।
अध्यक्ष झाले मैथिली भाषामा गरिने अध्ययन, लेखन, बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार समेत राख्नुभयो । सो अवसरमा बोल्नुहुँदै प्रतिनिधि सभासदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोवास गर्ने विपत्र मैथिली भाषीहरुलाई शिक्षामा पुहुँच पु-याउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापनागर्न राजनीतिक दलका नेतृत्वहरुले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।