विराटनगरस्थित नेरुडे लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सदस्यलाई २२ प्रतिसत बोनस शेयर वितरण गर्ने भएको छ ।
नेरुडेको शनिबार भएको १६ औ बार्षिक साधारणसभाले सदस्यलाई २२ प्रतिसत बोनस शेयरका साथै १ दसमलव १५ प्रतिसत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारणसभामा संचालक समितिको तर्फबाट आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै अध्यक्ष डाक्टर भेष प्रसाद धमलाले आर्थिक बर्ष २०७८⁄२०७९ मा संस्थाले १० अर्ब २० करोड ऋण लगानी र ३ अर्ब २० करोड बचत संकलन गरेको बताउनुभयो ।
सो क्रममा संस्थाले १९ करोड ४८ लाख ६७ हजार नाफा आर्जन गर्न सफल भएको उहाँले जानकारी गराउनुभयो । सोही नाफबाट सदस्यलाई बोनस शेयर र लाभांश बितरण गर्न लागिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै संस्थाका संचालक मणि कुमार अज्र्यालले आउँदो असार मसान्त भित्रै नेरुडेसंग बनेपाको मिर्मिरे लघुबित्त मर्जर हुन लागेको बताउनुभयो ।
त्यसकालागि बितेको पुष ११ गते दुई संस्था बीच सहमति पत्रमा हस्ताक्षर भैसकेको उहाँले बताउनुभयो । नेरुडे ६० करोड चुक्ता पुँजी र १ लाख ६० हजार ग्राहक सदस्य सहित मिर्मिरेसँग गाभिन लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले बताउनुभयो ।
आउदो साउन १ देखि दुबै संस्थाले एकीकृत कारोबार गर्ने तय भएको छ । यसैबिच साधारण सभाले सर्वसाधरण शेयरधनीको तर्फबाट सुलक्षणा तिमिलसिनालाई बित्तीय संस्थाको संचालकमा निर्बिरोध निर्वाचित गरेको छ ।
कार्यक्रमकाबीच उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको संस्थाका कम्पनी सचिव ऋषि प्रसाद नेउपानेले जानकारी दिनुभयो ।