विराटनगरमा आयोजना हुनलागेको सिएनआई कोशी एक्सपोले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मदत पुग्ने आयोजक समितिले बताएको छ ।

आयोजक समितिले मेला आयोजनास्थलमा सोमबार पत्रकार सम्मेलनको आयोजनागर्दै सुस्त र निराशाजनक रहेको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्सपो आयोजना गर्न लागिएको बताएको छ । यहि माघ १९ देखी २८ गतेसम्म विराटनगरको वडानम्बर २ शंकरपुरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रर्दशनी, सिएनआई कोशी एक्सपो २०२३ आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै मुख्य आयोजक नेपाल उद्योग परिसंघ सिएनआई का अध्यक्ष भीम घिमिरेले एक्सपोले उपभोक्ता र उत्पादकबीच पुलको काम गर्ने बताउनुभयो । यसले निराशाजक अवस्थामा रहेको ब्यापारिक क्षेत्रलाई उत्साह थप्ने काम समेत गर्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

मेलालाई सफल बनाउन पर्यटन बोर्डका साथै प्रदेश र स्थानिय सरकार सहित ब्यापारिक र शैक्षिक संघसंस्थाहरुले सहयोग गरिराखेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । एक्सपोका संयोजक राजेन्द्र राठीले सबै बर्ग र उमेर समुहका ब्यक्तीलाई लक्षितगरि एक्सपो आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँले एक्सपोलाई रोचक र ज्ञानबर्धक बनाउन विद्यार्थीहरुलाई लक्षितगरि सौर्यमण्डलको अवलोकनका निम्ति प्लानेटेरियमका साथै विज्ञानसंग सम्बन्धित विभिन्न स्टलहरु समेत राखिएको जानकारी गराउनुभयो । एक्सपोमा फनपार्क,सेल्फी पुल सहित मनोरंजन,ब्यापारिक,कृषि र ज्ञानबर्धकगरि झण्डै ४ सय स्टलहरु रहने जनाईएको छ ।

एक्सपोमा भारत,चीन,बंगलादेश र पाकिस्तान लगायतका देशका ब्यापारिक स्टलहरु समेत रहने आयोजकले जनाएको छ । एक्सपोमा भारतको बिहार र बंगाल राज्यबाट आउने ब्यक्तीहरुले समेत अवलोकन गर्नेगरि प्रचारप्रसार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

एक्सपो प्रवेशका निम्ति विद्यार्थीकालागि ५० रुपैया र बयस्ककालागि सय र दुई सयको टिकट निर्धारण गरिएको छ । प्रत्येक दिन १० बजेदेखी १२ बजेसम्म संस्थागतरुपमा आउने विद्यार्थीकालागि निुशल्क प्रवेशको ब्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

एक्सपो आयोजनामा ३ करोड खर्च र संकलनपनि सोहि अनुसार हुने आयोजक समितिले अनुमान गरेको छ । यसैगरि ५ लाख जतिले अवलोकन गर्ने तथा ५० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा एक्सपो आयोजक सहयोगि संस्थाका साथै प्रायोजक कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु