विराटनगरमा दुईदिने नेवा∶ महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ ।

नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुच∶ को आयोजनामा यहि माघ ६ र ७ गते दुईदिने महोत्सव आयोजना हुन लागेको हो । आयोजक समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै विविध नेवारी परिकारको स्टलहरु राखिने आयोजक समितिले जनाएको छ । महोत्सवमा नेवारी परिकारहरु योमरि,छोईला,कचिला,भुटन र तखा लगायतका खाना तथा नाश्ताका परिकारहरु राखिनुका साथै नेवारी सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिने जनाईएको छ ।

यसपटकको महोत्सवबाट पर्यटन हाटको अवधारणा समेत ल्याईएको महोत्सवका कार्यक्रक्रम संयोजक भविष कुमार श्रेष्ठले बताउनुभयो । पर्यटन हाट अन्र्तगत प्रदेशभित्रका विभिन्न जिल्लाहरुका मौलिक र बिशिष्ठ उत्पादनहरु खुकुरी,चिया र छुर्पी लगायतका बस्तु तथा खाद्यान्नहरुको स्टल राखिने उहाँले जानकारी दिनुभयो ।

आगामी दिनमा त्यस्ता बस्तुहरुको प्रर्बधन गर्न साप्ताहिक हाट आयोजनागर्ने लक्ष्य सहित पर्यटन हाटको अवधारणा ल्याइएको श्रेष्ठको भनाई थियो । महोत्सवमा नेवारी परिकार तथा संस्कृतिका साथै अन्य भाषाभाषिका संस्कृति झल्किने खानपान र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने जनाईएको छ ।

महोत्सवमा खानपानका जम्मा २० वटा स्टल रहने छन । यसपटक आयोजना गर्न लागिएको महोत्सव तेश्रो संस्करणको हो । यसअघि २०६८ सालमा पहिलो संस्करण र २०७२ सालमा दोश्रो संस्करणको महोत्सव आयोजना गरिएको थियो । त्यसयता कोभिडको कारणले महोत्सव रोकिएको थियो । माघ ६ गते शुक्रबार ३ बजे महोत्सवको उद्घाटन हुने जनाईएको छ ।

मेला आयोजनामा कुल ८ लाख खर्च हुने अनुमान गरिएको झी पुच∶ का अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु