विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी आबद्ध नेताहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वकोरुपमा मनाउनुपर्ने माग गरेका छन ।

नेपाल विद्वत परिषद मोरङले ३०१ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै राप्रपाका उपमहासचिव सुरेश मिश्रले राप्रपाको दबाबमा पृथ्वी जयन्तीमा बिदा दिईएपनि सरकारी तवरबाट दिवस बिशेष कार्यक्रम नगरिएकोमा आपत्ती जनाउनुभयो ।

उहाँले सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्ने राष्ट्रपितालाई बिर्सनु अपराध लायक हुने बताउनुहुँदै राष्ट्रपिताको सम्मान गर्दा कुनै दल बिशेषलाई सम्मान गरेको नहुने बताउनुभयो । स्वर्गिय पृथ्वीनारायण साहका दिब्योपदेशहरु पाठ्यक्रमहरुमा समेत सामेल गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल विद्वत परिषदका पुर्वाञ्चल संयोजक बल्लभ प्रसाद दाहालले पुस २७ को दिन सम्पुर्ण नेपाल र नेपालीलाई पहिचान दिने दिन रहेको बताउनुहुँदै यसदिनलाई राष्ट्रियस्तरमैं हर्षोल्लास पुर्वक मनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो । गणतन्त्र स्थापनायता राजसंस्थालाई पाखा लगाउने दुुर्भाग्यपुर्ण प्रयास भईरहेको बताउनुहुँदै राजसंस्थाले जहिलेपनि जनताको हितमा काम गरेको दाबी गर्नुभयो ।

दाहालले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापना आफुहरुको बटम लाइन रहेको बताउनुहुँदै त्यसकालागि आफुहरु निरन्तर संघर्षरत रहेको बताउनुभयो । राजतन्त्रबादी नेता एवम पुर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलले स्वर्गिय राजा पृथ्वी नारायण शाहका दिब्योपदेशहरु नेपाल र नेपालीकालागि युगौयुग सम्मको मार्गदर्शनका रुपमा रहने बताउनुभयो ।

उहाँले समेत बिदा मात्र दिएर नहुने बताउनुहुँदै सरकारी तवरबाटै दिवस बिशेष कार्यक्रमहरु आयोजना गरिनुपर्नृे धारणा ब्यक्त गर्नुभयो ।

नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेलको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

सम्बन्धित खबरहरु