विराटनगर । टाटासुमो गाडी चोरेर भाग्दा–भाग्दैको अवस्थामा विराटनगरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर पोखरियाको भटटाचोकबाट टाटासुमो गोल्ड गाडी लिएर भाग्दै गरेको अवस्थामा दुर्घटना भएपछि ती ब्यक्ती पक्राउ परेका हुन । पक्राउपर्ने ब्यक्ती बर्जु गाउँपालिका २ का अरुण चौधरी रहेको प्रहरीले जनाएको छ ।
चौधरीले विराटनगर १ को भट्टाचोकबाट को १ च ९४६७ नम्बरको सुमो कुदाएर भाग्दाभाग्दैको अवस्थामा अर्को गाडीलाई ठक्करदिंदा दुर्घटना भएको थियो । चोरिगरि लान लागिएको गाडीले विराटनगर २ मेनरोडको शंकरपुर मोडमा एउटा स्कुल बसलाई ठक्कर दिएको थियो ।
दुर्घटनाका कारण गाडीको इन्जिन बन्द भएपछि स्थानियको सहयोगमा प्रहरीले गाडी लिएर भाग्दै गरेका चौधरीलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन । पार्किङ गरिराखिएको टाटा सुमोको साँचो चालकले ड्यासबोर्ड माथि राखेर घरभित्र गएको अवस्थामा चौधरीले मौका छोपेर लिएर भागेको हुनसक्ने सम्बन्धित गाडी धनिले बताएका छन ।
घटनामा संलग्न चौधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । ठक्करबाट दुवै सवारीसाधनमा क्षति पुगेको छ ।