विराटनगर । असार १४ गते बिहान आएको बाढीका कारण विराटनगर महानगरपालिकाका साथै कटहरी र जहदा गाउँपालिकामा सयौंको संख्यामा सुकुम्बासी परिवार विस्थापित भएका छन ।
लगातारको बर्षापछि सिंघीया,केशलिया र लोहन्द्रा खोलाको जलस्तर बढदा ती नदीहरुको तटियक्षेत्रमा बसोबासगर्ने सुकुम्बासी परिवारहरु विस्थापित भएका हुन । यतिखेर उनिहरु कतै पाल टाँगेर त कतै सामुदायिक विद्यालय सहित सरकारी भवनहरुमा आश्रय लिएका छन । अस्थाई ओत पाएपनि खाद्यान्न अभावका कारण भोकभोकै बस्नुपर्ने अवस्था रहेको विराटनगर –१ का राजकुमार सहनीले बताउनुभयो ।
बाढी आएपछि घर छाडेर हिंडनुपरेका उनिहरु आफुसंगै आफ्ना बस्तुभाउलाई समेत आश्रयस्थलमै लिएर आएका छन । अस्थाई शिवीरजस्तो अवस्थामा बस्नुपर्दा बालबालिका र ज्येष्ठ नागरीकहरु सबभन्दा बढी प्रभावित भईरहेका छन । चिसो भुईमा सुत्नुपर्ने अवस्था सृजना भएपछि उनिहरुको जीवन थप कष्टकर भएको हो । यस्तो अवस्थामा हालसम्म सम्बन्धित स्थानिय तहबाट अधिकांश पीडितलाई त्रिपाल,चिउराभुजा,चाउचाउ र बिस्कुट मात्र उपलब्ध गराईएको अवस्था छ ।
यद्यपि विपत्तिको यो समयमा समाजिक संघसंस्थाहरु पीडितलाई सहयोगर्न अग्रसर भएका छन । बाढी आएयता विराटनगरस्थित नेपाल सोनार समाज मोरङले विराटनगर र कटहरीका बाढी पीडितलाई खानाको प्याकेट वितरण गर्ने कार्य शुरु गरेको छ । सोनार समाजले तयारी खानको प्याकेट तयारगरि पीडितहरु बसेको ठाउँमा पुगेर वितरण गरिरहेको छ ।
समाजले विराटनगर महानगरपालिका सहित कटहरी गाउँपालिकाका बाढी पीडितलाई खाना र पानी वितरण गरिरहेको छ । बाढी पीडितहरुको दयनिय अवस्था देखेर विपद्को यो समयमा सम्भव भएसम्म खाद्यान्न वितरण कार्यलाई निरन्तरता दिईने नेपाल सोनार समाज मोरङका अध्यक्ष महेशकुमार साहले बताउनुभयो ।
घरमा बाढीको पानी प्रवेश गरेपछि कतिपय सुकुम्बासी परिवारका कच्ची घरहरु ढलेका छन । अधिकांश परिवारले बाढी आउँदा घरभित्रबाट लत्ताकपडा समेत निकाल्न नपाएका कारण उनिहरुलाई थप सास्ती छ ।