विराटनगर । विराटनगरमा सोमबारबाट विभिन्न प्रकारका सवारीसाधन चलाउन तालिमदिने ड्राईभिङ स्कुल संचालनमा आएको छ ।

विराटनगर–४ ढाठ नजिकै श्री नेपाल हेभी ड्राईभिङ स्कुल संचालनमा आएको हो । यो ड्राईभिङ स्कुल नेपालकै सबभन्दा ठुलो र सुविधा सम्पन्न ड्राईभिङ स्कुल भएको संचालक पक्षले दाबी गरेको छ । सोमबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानरपालिकाका प्रमुख नागेश कोईरालाले सो ड्राईभिङ स्कुलको उदघाटन गर्नुभयो ।

यसअघि देखीनै सुनसरीको ईटहरी र मोरङको सुन्दर हरैचामा श्री नेपाल हेभी ड्राईभिङ स्कुलकै नामले ट्रेनिङ सेन्टर चलाउँदै आउनुभएका शिव श्रेष्ठको नेतृत्वमा ८ जना ब्यवसायीको लगानीमा विराटनगरको ट्रेनिङ सेन्टर संचालनमा आएको जनाइएको छ ।

विराटनगर ढाठ नजिकैको पश्चिमतर्फ जाने सडक किनारमा १ बिग्घा १४ कट्ठा क्षेत्रफलमा यो ट्रेनिङ सेन्टर संचालनमा आएको हो । १ करोड ४० लाखको लगानीमा संचालनमा आएको ट्रेनिङ सेन्टरमा मोटरसाईकल,स्कुटी,कार,ट्रयाक्टर,टेम्पो सहित सबै प्रकारका हेभी सवारीसाधन चलाउने सम्बन्धि तालिम दिने जनाइएको छ ।

तालिमकालागि घण्टा,महिना र फुलकोर्सगरि ३ प्रकारले शुल्क निर्धारण गरिएको छ । बैदेशिक रोजगारमा पलायन भईरहेका युवाहरुलाई दक्ष बनाई स्वदेशमैं रोजगार बनाउन ड्राईभिङ स्कुल संचालनमा ल्याएको संचालक श्रेष्ठले बताउनुभयो ।

सुविधा र ठाँउको उपलब्धताको आधारमा यो ड्राईभिङ स्कुल नेपालकै सबभन्दा ठुलो ड्राईभिङ स्कुल रहेको उहाँले दाबी गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै महानगर प्रमुख कोईरालाले प्रदेश राजधानीमा सुविधा सम्पन्न ड्राईभिङ स्कुल संचालनमा आउँदा महानगर सहित आसपासका पालिकाका सर्वसाधारणलाई सहज हुने बताउनुभयो ।

यद्यपि सवारीसाधन सम्बन्धि तालिम दिने तथा लाईसेन्स वितरणको पारम्परिक तरिकालाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । ड्राईभिङ स्कुल समुद्घाटनको अवसरमा संचालक पक्षले विराटनगरकी श्रुती अटललाई तालिम सम्बन्धि निशुल्क छात्रबृति दिएको छ ।

सो तालिम केन्द्रमा २ सय जनाले एकैपटकमा प्रशिक्षण लिनसक्ने जनाइएको छ । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खबरहरु