कटहरी । मोरङको कटहरी गाउँपालिकाको पहिलो गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

कार्यपालिकाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष देवराज चौधरीले विभिन्न १३ वटा प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सबै प्रस्तावहरु ध्वनी मतले पारित भएको छ । कार्यपालिकाको पहिलो बैठकले विभिन्न ८ वटा समितिहरु समेत गठन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।

पहिलो बैठकले कार्यपालिका सदस्य मनोजकुमार माझीलाई कार्यपालिकाको प्रवक्ता तोक्ने निर्णय गरेको छ । माझीलाई गाउँ कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७५ को नियम १७ बमोजिम प्रवक्ता तोकिएको जनाइएको छ । यस्तै गाउँपालिकाकी उपाध्यक्ष सितादेवी राजवंशीको संयोजकत्वमा अनुगमन समिति र राजश्व परामर्श समिति गठन गरिएको छ । यसैगरि विभिन्न ५ वटा बिषयगत समितिहरुको संयोजक र सदस्य समेत तोकिएको छ ।

जसअनुसार सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिमा कार्यपालिका सदस्य सम्पतलाल सरदारलाई संयोजक तोकिएको छ भने आर्थिक विकास समतिमा जितनारायण सरदार,सामाजिक विकास समितिमा मनोजकुमार माझी,पूर्वाधार विकास समितिमा श्यामप्रसाद मण्डल र वातावरण तथा विपद ब्यवस्थापन समितिमा कटहरी ३ का वडाध्यक्ष समेत रहनुभएका जदुलाल कामतलाई संयोजक तोकिएको छ ।

बैठक समापन समारोहमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले कटहरीलाई नमुना र समृद्ध गाउँपालिकाकोरुपमा विकासगर्न कार्यपालिका सदस्यहरुबीचको ऐक्यबद्धता उदाहरणीय रहेको बताउनुभयो । कार्यपालिका बैठकले शिक्षा,स्वास्थय र सरसफाईसंग जोडिएका अन्य महत्वपुर्ण निर्णयहरु समेत गरेको जनाइएको छ ।

कार्यपालिका बैठकबाट शैक्षिक गुणस्तर बृद्धिगर्न यसअघि गाउँपालिकास्तरबाट हुँदै आएको विद्यालयहरुको अनुगमन निरीक्षणको अधिकार वडासमितिका पदाधिकारीलाई समेत प्रत्योजन गरेको छ ।

सम्बन्धित खबरहरु