विराटनगर । मोरङको कटहरी गाउँपालिका १ मा रहेको महेशपुर आधारभुत विद्यालयका दुई जना जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कक्षा पाँचमा अध्ययरत वर्षा चौधरी र अमित सहनीलाई जनही १०-१० हजार रुपैयाँको छात्रवृत्ती प्रदान गरिएको हो । उनीहरूलाई बुधबार स्कुल परिसरमा एक कार्यक्रम आयोजनागरि छात्रबृत्तिका संस्थापक डाक्टर गंगाराम चौधरीले छात्रबृत्ति प्रदान गर्नुभयो ।
गंगाबेद नामको उक्त छात्रबृत्ति महेशपुर आधारभुत विद्यालयमा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई प्रत्येक प्रदान गर्ने गरिएको छ । सोही अवसरमा विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र स्कुल ब्याग पनि बितरण गरिएको थियो ।
नेपाल एजुकेशन पोर्टलका बिजनेश डाइरेक्टर बिकल्प चौधरीको सहयोगमा शैक्षिक सामाग्रि वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त राजवंशीले जानकारी दिनुभयो । कार्यक्रमकाबीच प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव र कटहरी गाउँपालिका अध्यक्ष देबराज चौधरी लगायतका अतिथिहरुले विद्यार्थीलाई शैक्षिक सामाग्रि हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा स्थानिय सरकार लागिपर्ने बताउनुभयो । उहाँले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योजना बनाएर काम गर्न आफु लागि परेको बताउनुभयो ।
सो अवसरमा प्राडा दुर्गानन्द चौधरी, नेपाली कांग्रेस मोरङका उपसभापति भक्त्तिनाथ माझी, जिल्ला सहसचिव भूवनेश्वर राजवंशी,जिल्ला सदस्य विद्यानन्द माझी लगायतले आधारभूत विद्यालयको विविध पक्षमा बोल्नु भएको थियो ।