विराटनगर । मोरङ ब्यापार संघले ट्राफिक प्रहरीलाई १ सय थान सडक डिभाईडर प्रदान गरेको छ ।
स्थानीय जैन भवन अगाडी आज आयोजित कार्यक्रमकाबीच मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले जिल्ला प्रहरी प्रमुख शान्तिराज कोईरालालाई प्लाष्टिकका एकसय थान डिभाईडर हस्तान्तरण गर्नुभयो । डिभाईडरहरुमा स्वदेशी बजार प्रबर्धन गर्ने नाराहरु उल्लेख गरिएका स्टिकरहरु टाँस गरिएको छ ।
विराटनगर सहित आसपासका गाउँशहरबाट सिमापारी गएर सरसामान खरीद गर्ने परिपाटिका कारण उपभोक्ता ठगिने तथा स्थानिय बजारमा समेत असर परिरहेकाले बजार सम्बन्धि जनचेतना उल्लेख गरिएका स्टिकरहरु टाँस गरिएको आयोजक संस्थाका अध्यक्ष रिजालले बताउनुभयो ।
स्वदेशी बजारलाई प्रबर्धन गर्न र ट्राफिक ब्यवस्थापनमा सहजताको दुवै उद्धेश्यसहित मोरङ ब्यापार संघ र महिला उद्यम समितिको संयुक्त लगानीमा ३ लाख ५० हजार मुल्य बराबरको १ सय थान डिभाईडर प्रहरीलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
डिभाईडर ग्रहण गर्नुहुँदै जिल्ला प्रहरी प्रमुख एसपी कोईरालाले ट्राफिकको अवस्थालाई बिचारगर्दै आवश्यकता भएका ठाउँहरुमा डिभाईडर राखिने बताउनुभयो । उहाँले ट्राफिक ब्यवस्थापनका साथै स्वदेशी बजारलाई समेत प्रबर्धन गर्ने उद्धेश्यसहित डिभाइडर प्रदान गरिएकाले उद्धेश्य प्राप्तिका हिसाबले डिभाईडरहरु राख्न जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई सुझाव दिनुभयो ।
उपलब्ध गराइएको डिभाईडरहरुमा ‘नेपालको बजार,बनाउ गुल्जार’ ‘आफ्नै देशमा किनमेल,हुँदैन जालझेल’ र ‘आफ्नो देशको बजार,सुरक्षित कारोबार’ लेखिएका स्टिकरहरु टाँस गरिएको छ ।
कार्यक्रममा महिला उद्यम समितिका अध्यक्ष बन्दना जैन सहित ब्यापार संघ र उद्यम समितिका पदाधिकारीहरुको सहभागिता थियो ।