विराटनगर ३० चैत । मोरङका राजवंशी समुदायले हिलो खेल्दै तिनदिने सिरुवा पर्वको शुरुआत गरेका छन । एकअर्कामाथि हिलो छ्यापाछ्याप गरेर काद सिरुवा भनिने यो पर्व मनाउने गरिन्छ ।

सो अवसरमा राजवंशी समाज विकास समितिको केन्द्रीय,जिल्ला तथा स्थानिय ईकाई समितिले संयुक्तरुपमा कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा कार्यक्रम आयोजना गरेको हो । यो पर्व नयाँ बर्षको पुर्वसन्ध्यामा मनाउने गरिन्छ ।

सो अवसरमा कार्यक्रमका सहभागिले एकअर्कालाई हिलोे दलेर खुशियाली साटासाट गरेका थिए । हिलो खेल्ने क्रममा युवायुवतीहरुले आफुभन्दा जेष्ठलाई ढोगगर्दै आर्शिवाद समेत थापेका थिए । रोगब्याधी अन्त हुने कामना तथा माटोसंग किसान तथा मानव जीवनको साईनो दर्शाउने उद्धेश्यले पारम्परिकरुपमा काद सिरुवा मनाउने गरिएको आयोजक राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भिमराज राजवंशीले बताउनुभयो ।

चालु बर्षको समापनकादिन हिलो सिरुवा खेल्दै राजवंशी समुदायले तीनदिने सिरुवा पर्वको शुरुआत गर्छन । राजवंशी समुदायले सिरुवाको पहिलोदिन अर्थात चैतको अन्तिमदिन काद सिरुवा,दोश्रोदिन बैशाख १ गते पानी सिरुवा र बैशाख २ गते रंग सिरुवा मनाउँछन ।

नयाँ बर्षको बैशाख १ गतेबाट महिनाभरि सुनसरी मोरङका विभिन्न गाउँपालिकामा रहेका ग्रामथानहरुमा मेला समेत लाग्ने गरेको छ । चैत महिना समापनसंगै यसक्षेत्रका किसानहरु गहुँ,मुसुरो,चना र खेसारीको बाली भित्र्याइसकेका हुन्छन । बाली भित्र्याइसकेको फुर्सदिलो समयमा बैशाख महिनाभरि किसानहरु एकगाउँबाट अर्को गाउँमा भएका आफ्न्तहरुकोमा मेला भर्न मेजबानी जाने चलन समेत छ ।

मोरङको धनपालथानमा बैशाख १ गते राजा धनपाल थान ग्रामदेउतालाई तथा सुनबर्षीको भेरुवा थानमा पुजागर्दै औपचारिकरुपमा मेलाको शुरुआत हुनेगर्छ भने ग्रामथान गाउँपालिकामा रहेको गिधनियमा रहेको ग्रामदेउतालाई पुजा गरेपछि बैशाख मेलाको समापन हुने गर्छ ।

सम्बन्धित खबरहरु