विराटनगर ७ चैत । अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा विराटनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सो अवसरमा विराटनगरस्थित दलित समाज विकास केन्द्रले कार्यक्रम आयोजना गरेको हो । विराटनगर ६ को जनचेतना आधारभुत विद्यालय परिसरमा गरिएको कार्यक्रममा दलित समाजका अगुवा तथा स्थानिय सहभागि भएका छन । सो अवसरमा बोल्नुहुँदै शिक्षासेवी नन्दलाल मण्डलले देशको पछिल्लो संबिधानले दलित समुदायको धेरै हकअधिकारहरु सुनिश्चित गरेको र थप केहि अधिकारहरु हासिल गर्न बांकी रहेको बताउनुभयो ।
उहाँले दलित समाजलाई अगाडि बढाउन शिक्षामा ध्यान दिनुपर्ने जोड दिनुभयो । दलित समाज विकास केन्द्रका अध्यक्ष उत्तम पासवानले संबिधानले जातिय भेदभाव अन्त्य गरिसकेको बताउनुहुँदै ब्यवहारिकरुपमा भने अझपनि कतैकतै भेदभावका घटनाहरु सुनिने गरेको बताउनुभयो । भेदभावको सामना गर्नुपरेको अवस्थामा प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नवीन विक्रम शाह,विराटनगर ६ का वडाध्यक्ष विजय कामत,जनचेतना आधारभुत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अमृतकुमार साह र आयोजक संस्थाका महासचिव विजयकुमार प्रकोटी लगायतका वक्ताले आउदो निर्वाचनमा जनप्रतिनिधि छनौटगर्दा दलित अधिकार तथा भेदभाव उन्मुलन गर्नसक्ने योग्य जनप्रतिनिधि छनौट गर्नुपर्ने बिषयमा जोड दिनुभयो ।