विराटनगर २४ फागुन । मोरङ ब्यापार संघले विविध कार्यक्रमगर्दै आफ्नो ७२ औं बार्षिकोत्सव मनाएको छ ।
संघले बृक्षारोपण तथा जेष्ठ नागरीकलाई मिष्ठान भोजन लगायतका कार्यक्रम आयोजनागर्दै आफ्नो स्थापना दिवस मनाएको हो । सो अवसरमा संघले विराटनगर–७ स्थित श्री सत्यनारायण माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण गरेको छ । आज बिहान पुगेका संघका पदाधिकारीहरुले उक्त स्कुल प्राङणमा रुद्राक्ष,रक्तचंदन,अम्बा,बडहर र बेल लगायतका बहुउपयोगि बोटबिरुवाहरु बृक्षारोपण गरेका छन । बार्षिकोत्सवको सन्दर्भ पारेर सत्यनारायण स्कुलसंगै सुनसरी मोरङका विभिन्न विद्यालय तथा सार्वजनिक स्थलहरुमा एक हजार बोट बिरुवा बृक्षारोपण गरिएको मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिनुभयो ।
बार्षिकोत्सवको अवसरमा तामझामवाला कार्यक्रमको साटो बहुउपयोगि र समाजिक सेवाका कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा संघले बुढीगंगा गाउँपालिका–१ पुष्पलालचोकमा रहेको महिला जागृति तथा बृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन समेत गराएको छ ।
कार्यक्रममा मोरङ ब्यापार संघका पुर्वअध्यक्ष पवनकुमार सारडा, उपाध्यक्ष विकासकुमार बेगवानी, सचिव संजय श्रेष्ठ र सदस्यहरु मनिस मारु लगायतका पदाधिकारीहरुको उपस्थिति थियो । विक्रम सम्बत २००७ सालमा मोरङ ब्यापार संघको स्थापना भएको हो ।