विराटनगर २३ फागुन । विराटनगरमा जारी प्रथम इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा झापा र मोरङ विजयी भएका छन् ।

वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यस अघि नै फानलमा पुगिसकेको छ । पहिलो खेलमा झापाले मधेश प्रदेशको सप्तरीलाई २ सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । झापो लिगको सवै खेलमा विजयी भएको छ । सप्तरीले भने कुनै पनि खेलमा जित हासिल गर्न सकेन । टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २ सय ६० रनको विशाल स्कोर बनाएको थियो । झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गरिन् । काजलले १ सय २ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा १७ चौका प्रहार गरिन् । काजलबाहेक अपसरी वेगमले अर्ध सतक प्रहार गर्दै ५० रनमा आउट भइन । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिइन् । झापाका २ विकेट रन आउटमा भएको थियो ।

२ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलव २ बलमा सवै विकेटको क्षति २७ रनमा सिमित भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । झापाकी एलीसा खडियाले ४ ओभर बलिङ गर्दै विना रन ४ मेडन राखेकी थिइन् भने खेलको वुमेन अफ म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित भइन् । दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनकोे स्कोर बनाएको थियो । सुनसरीकी भावना काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाइन् । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिइन् । १ सय १८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेट क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाईन ।

त्यस्तै सृजना राजवंशी २४ रनमा आउट भइन् । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन् । खेलको वुमेन अफ म्याच मोरङकी रानु घोषित भइन् ।

सम्बन्धित खबरहरु