विराटनगर १६ फागुन । सयौंबर्ष पुरानो ईतिहास बोकेको विराटनगरस्थित मण्ठा पोखरी र बाबा बाणेश्वरनाथ मन्दिरको संरक्षण र संर्बधनमा सरोकारवालाको पर्याप्त ध्यान नपुगेको देखिन्छ । उपेक्षामा परेकै कारण मन्दिरको जग्गा निजी ब्यक्तीहरुले जोगभोग गरिरहेका छन भने मन्दिरको आयआर्जन समेत गुमेको छ ।

विराटनगर महानगरपालिकाको वडानम्बर १४ रानीमा स्थित छ धार्मिक महत्वको ऐतिहासिक मण्ठा पोखरी । साढे ९ कट्ठा जलक्षेत्र रहेको पोखरीकै उत्तरतर्फ छ बाबा बाणेश्वरनाथ महादेव मन्दिर । यो मन्दिर १ सय १० बर्ष अघि निर्माण गरिएको कुरा मन्दिरमा राखिएको शिलालेखबाट पुष्टि हुन्छ । जुन आधुनिक विराटनगरको ईतिहासभन्दा पनि पुरानो हो । यो मन्दिरको विक्रमसम्बत १९६८ साल मंसिर ९ गते निर्माण गरिएको हो । तत्कालिन महन्थ डीगेश्वर भयरोगिर तथा उनका चेला घेला गंगागिरले मन्दिर निर्माण गराएको शिलालेखमा अंकित छ । मण्ठा पोखरी र मन्दिर रहेको यो स्थानमा हाल १ बिग्घा १५ कट्ठा जग्गा छ । मण्ठा पोखरीकोलागि भन्दै यस्का संस्थापकहरुले झण्डै ७ बिग्घा जग्गा राखेको भएपनि हाल ती जग्गाहरुमध्ये अधिकांश जग्गा मन्दिरको नियन्त्रण बाहिर छ भने छेउछाउका जग्गाहरु अतिक्रमणमा परेको सम्बन्धित समितिका सदस्य अनन्तलाल यादवले बताउनुभयो ।


मन्दिर संचालन तथा संरक्षण कानिम्ति आयआर्जनको जोहो गर्न मन्दिरभन्दा दक्षिणतर्फ रहेको साढे ५ बिग्घा जग्गा यतिखेर विराटनगर १७ का स्वर्गिय पेचु मियाँका सन्तानहरुले जोगभोग गरिरहेको स्थानियले बताएका छन । सो जग्गा उपभोगवापत आउनुपर्ने आम्दनी मन्दिरले हासिल गर्न नसकेको समितिले बताएको छ । चतरा गुठीको नाममा रहेको सो जग्गा मियाँ परिवारले ५ दशक अघिनै ठेक्कामा लिएपनि त्यसवापतको दस्तुर नबुझाएको समितिका सदस्य रामजी मण्डलले बताउनुभयो । मन्दिरको आयआर्जनकानिम्ति राखिएको जग्गा हाल ब्यक्तीले निजी उपभोग गरिरहेको र त्यसवापत दस्तुर समेत नबुझाईरहेकाले ती जग्गाहरु मन्दिरको नियन्त्रणमा ल्याउन आफुहरुले पहल थालेको बाबा बाणेश्वरनाथ शिव मन्दिर,मण्ठा पोखरी समितिका अध्यक्ष गंगाप्रसाद यादवले बताउनुभयो ।

यो पोखरी प्राचिन बिराट राजा दरबारको पेरीफेरीमा सोहि सयममा निर्माण गरिएको हो । पोखरी रहेको स्थानभन्दा १ किलोमिटर दक्षिण भेडियारीमा राजा विराटनगरको प्राचिन दरबार समेत छ । दरबारक्षेत्रमा केहिसमय अघि गरिएको आंशिक उत्खननमा त्यसठाउँमा साढे २ हजार बर्ष पुरानो संरचनाहरु फेलापरेको छ । भेडियारीको सो क्षेत्रमा महाभारतकालमा पाण्डवहरुले गुप्तवास बसेको र राजा विराटका रानीहरु नुहाउन यस मण्ठा पोखरीमा आउने गरेको किम्बन्दती रहेको स्थानियले बताएका छन ।

प्राचिन र धार्मिक महत्वको मण्ठा पोखरीको यो क्षेत्रलाई ब्यवस्थितगर्दै प्रर्बधन गर्नसके थप धार्मिक पर्यटकहरु आर्कषित गर्न सकिन्छ ।

सम्बन्धित खबरहरु