विराटनगर १३ फागनु । ‘सुर्दशन कपिला सिरपा’ सम्मान भारत सिक्किमको नेवा गुठीलाई प्रदान गरिएको छ । आयोजक नेपाल भाषा तथा सांस्कृतिक संघले विराटनगरमा शुक्रबार कार्यक्रमको आयोजनागर्दै भारतको उक्त गुठीलाई २ लाख राशि सहितको सो सम्मान प्रदान गरेको हो ।
कार्यक्रमकाबीच प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिक्किम गुठीका अध्यक्ष निर्मलकुमार प्रधानलाई सो सम्मान हस्तान्तरण गर्नुभयो । भारतको सिक्किम राज्यमा नेपालभाषा संस्कृतिको प्रबर्धनमा सिक्किम गुठीले महत्वपुर्ण र उदाहरणिय काम गर्दै आएको योगदानको कदरगर्दै सो सम्मान प्रदान गरिएको झीपुच,नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनुभयो । सम्मानको क्रममा आयोजक समितिले सम्मानित गुठीलाई कलात्मक आँखिझ्याल आकृतिमा कदरपत्र र २ लाखको चेक प्रदान गरेको थियो । सम्मान ग्रहण गर्न सिक्किमबाट गुठीका २५ जना पदाधिकारीहरु विराटनगर आएका थिए । सो अवसरमा कार्यक्रममा नेवा संस्कृति झल्किने कुमारी नृत्य र कविता वाचन लगायतका कार्यक्रमहरु समेत गरिएको थियो ।
कार्यक्रमकाबीच आयोजक संस्थाको स्मारिका समेत विमोचन गरिएको थियो । मुख्यमन्त्री राई र आमन्त्रित अतिथिहरुले स्मारिका विमोचन गर्नुभएको थियो ।