विराटनगर २४ माघ । बिहारको बथनाहामा भास्सिएको मिरगञ्ज पुलका कारण सृजित समस्या समाधानगर्न बैकल्पिक सबभन्दा नजिकको बाटो निर्धारणगर्न मोरङ ब्यापार संघले पहल थालेको छ । त्यसकालागि संघले बिहारसरकार सम्बद्ध उच्चपदस्थ सरकारी कर्मचारीहरुसंग स्थलगत निरीक्षण अवलोकन गरेको छ ।
विराटनगर रानी भंसार भन्दा झण्डै ६ किलोमिटर दक्षिण बिहार राज्यको बथनाहामा रहेको मीरगञ्ज पुल पुस २२ गते भास्सिएपछि सुनसरीमोरङ औद्योगिक करिडोरमा सृजित समस्या समाधानगर्न मोरङ ब्यापार संघले निरन्तर पहल र प्रयास गरिरहेको छ । सो पुल भास्सिएपछि विराटनगर भन्सार हुँदै सिधै करिडोरसम्म आईपुग्ने मालबाहक ट्रकहरु यतिखेर–भण्टाबारी हुँदै घुमाउरो बाटो हुँदै मात्र विराटनगर आइपुग्छन । यस्तो अवस्थाले यसक्षेत्रका उद्योगिब्यापारीले अतिरिक्त ढुवानी खर्च बेहोरिरहेका छन भने विराटनगर भन्सार कार्यालयको राजस्व समेत गुमेको छ । यसअघि सोहि समस्याको समाधानकानिम्ति मोरङ ब्यापार संघको टोली बिहार सरकारका मन्त्रीलाई भेटन पटना समेत पुगेको थियो भने बिहारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादको विराटनगर भ्रमणमा समेत सो मुद्धा उठान भएको थियो । त्यसयता सम्बद्ध भारतीय पक्षको सक्रियता बढेको छ । संघको टोलीले सोहि बिषयलाई लिएर आईतबार अररिया जिल्लाका डिस्ट्रिक मैजिस्ट्रेट र पटनाका ज्वाईन्ट कमिश्नरसंग भेंटबार्ता र स्थलगत निरीक्षण,अवलोकन गरेको छ ।
सो क्रममा मीरगञ्जमा निर्माणाधिन नयाँ पुल निर्माणमा थप केहि समय लाग्ने देखिएकाले तत्कालकालागि सम्भावित बैकल्पिक छोटो बाटोहरुको अवस्थाको निरीक्षण बिश्लेषण गरिएको छ । मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको टोली तथा अररियाका डिएम प्रशान्तकुमार सिएच र पटनाका ज्वाईन्ट कमिश्नर रणबिजय सिंह लगायतको टोलीले मीरगञ्ज पुल र सडकहरुको वर्तमान अवस्थाको अवलोकन गरेको छ । सो क्रममा संघको टोलीले भास्सिएको मीरगञ्ज पुल नजिकै रहेको इट्टा भट्ठाबाट बैकल्पिक बाटोको निकास दिन सकिए तत्कालकालागि सहज हुने डिएम प्रशान्त कुमारलाई बताएका थिए । सो कुरामा डिएम समेत सहमत भएको र आउदो २ साताभित्र सो रुट आवधिकरुपमा खुलाउने कुरामा मौखिक सहमति भएको संघका अध्यक्ष रिजालले बताउनुभयो ।
भारतीय अधिकारीहरुसंगको भेंटघाटमा संघले मीरगंज पुलका साथै बथनाहादेखि बुधनगरसम्मको रेल सेवा तत्काल संचालन गर्न,आईसिपीमै अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने र फुड क्वारेन्टाईन स्थापना गर्न सुझाव दिएको संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीले बताउनुभयो । निरन्तरको दबाबपछि सम्बद्ध भारतीय पक्ष एक्टिभ भएपछि समस्या समाधान हुने कुरामा यसक्षेत्रका उद्योगिहरु आशाबादी भएका छन ।