राजवंशी समाज विकास समिति, कटहरी गाउँपालिका इकाईको आयोजनामा वृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
समितिले कटहरी गाउँपालिका वडा नं. ३ स्थित राजवंशी सामुदायिक भवनको प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा समितिमा आबद्ध महिला तथा पुरुषहरूले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहँदा कुल २१ पिन्ट रगत संकलन भएको राजवंशी समाज विकास समिति, कटहरी गाउँपालिका इकाईका सचिव कपलेश्वर राजवंशीले जानकारी दिनुभयो। संकलित रगतले बिरामीहरूको जीवन रक्षाका लागि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास समितिले लिएको छ।

संस्थाको सामाजिक गतिविधि सम्बन्धी वार्षिक कार्यतालिका अनुसार नै यो रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष प्रितमराज राजवंशीले बताउनुभयो। विगत लामो समयदेखि सामाजिक हितका विविध कार्यक्रमहरूमा अग्रसर रहँदै आएको यस संस्थाले सामुदायिक उन्नयनका निम्ति राजवंशी भाषा, वेषभूषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको क्षेत्रमा समेत निरन्तर काम गर्दै आएको जनाएको छ।

आगामी दिनहरूमा पनि समाज उपयोगी यस्ता रचनात्मक र मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिइने संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ।




