अपाङ्गता भएका व्यक्तिहरूलाई सीपसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यले विराटनगरमा एकमहिने जुत्ता–चप्पल बनाउने तालिम सुरु गरिएको छ ।

विराटनगर महानगरपालिकाको सहयोग, राष्ट्रिय अपाङ महासंघ नेपाल कोशी प्रदेश तथा सामर्थ्य समाजको समन्वय र साथी फुटवेयर घरेलु उद्योगको आयोजनामा तालिम सुरु भएको हो ।

विराटनगर–१४ गौशालाचोकस्थित साथी फुटवेयरको प्राङ्गणमा सुरु भएको तालिमको उद्घाटन राष्ट्रिय अपाङ महासंघ नेपाल कोशी प्रदेशका सचिव गोपालमान थापाले गर्नुभयो । तालिममा मेरुदण्ड पक्षाघात भएका १७ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ ।

बितेका डेढ दशकभन्दा बढी समयदेखि विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीबाट ट्राइसाइकलमार्फत किराना सामग्री ओसारपसार गर्दै जीविकोपार्जन गरिरहेका अपाङ्गता भएका व्यक्तिहरूलाई वैकल्पिक रोजगारीसँग जोड्ने उद्देश्यले तालिम आयोजना गरिएको राष्ट्रिय अपाङ महासंघ नेपाल कोशी प्रदेशका व्यवस्थापक सरोज नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रमा कडाइ गरिएपछि उनीहरू रोजीरोटीको संकटमा परेका थिए । त्यही अवस्थालाई मध्यनजर गर्दै स्वरोजगार बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमी बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले १० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको सामर्थ्य समाजका अध्यक्ष चेतनाथ पोखरेलले जानकारी दिनुभयो ।

उक्त बजेटबाट तालिम सञ्चालन गरिएको हो भने सहभागीहरूको आफ्नै स्वामित्व रहने गरी साथी फुटवेयर समेत दर्ता गरिएको छ । उद्योगमा ७ सदस्यीय सञ्चालक समिति र थप १० जना सदस्य रहेका छन् । तालिमपछि सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने लक्ष्य राखिएको फुटवेयरका अध्यक्ष संजयकुमार दर्नालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्ति रामकुमार सहनीले क्यारिङको काम बन्द भएपछि परिवार चलाउनसमेत कठिन भएको अवस्थामा जुत्ता–चप्पल उद्योग स्थापना र तालिम सुरु भएपछि नयाँ आशा पलाएको बताउनुभयो ।

महासंघका सचिव गोपालमान थापाले सहभागीहरूलाई दत्तचित्त भएर तालिम लिएर सफल उद्यमी बन्न सुझाव दिनुभयो ।

तालिममा मुख्य प्रशिक्षक मालती आचार्य र सहायक प्रशिक्षक मुना खडकाले एक महिनासम्म सहजीकरण गर्नुहुने जनाइएको छ ।

सम्बन्धित खबरहरु