फागुन २७ । धनपालथान गाउँपालिकामा शिलान्यास भईसकेको अस्पताललाई पुनः शिलान्यासगर्ने तयारी गरिएपछि विवाद भएको छ ।

२०७८ सालमा शिलान्यासगरि निर्माण समेत शुरु भईसकेको अस्पताल भवनको गाउँपालिकाले फेरी शिलान्यासगर्ने तयारी गरेपछि विवाद भएको हो । धनपालथान गाउँपालिकाको वडानम्बर ५ बबियाटोलमा १५ शैय्याको अस्पताल निर्माण कार्य हुँदैछ । संघिय सरकारको १३ करोड ५९ लाख बढी बजेटबाट यस अस्पतालको निर्माण हुँदैछ ।

धनपालथान ४ का कर्णबहादुर एवं कृष्णबहादुर राजवंशी लगायतको परिवारले दान दिएको १५ कट्ठा जग्गामा अस्पतालको निर्माण हुँदैछ । निर्वतमान गाउँपालिका अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु र धनपालथान ५ का वडाध्यक्ष गयानन्द सरदारले २०७८ चैत्र १४ गते यस अस्पतालको शिलान्यास गर्नुभएको थियो । त्यसयता २०८१ भदौबाट अस्पतालको निर्माणकार्य हुँदै आएको छ ।

हालसम्म अस्पतालको ३० प्रतिशत निर्माणकार्य प्रगति भईसकेको भद्रपुरको निर्माण ब्यवसायि कम्पनी बस्नेत पी एण्ड जेभीले जनाएको छ । कम्पाउण्ड वाल र साढे २ तले अस्पताल भवनको बेसमेन्टको समेतगरि ३० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको अवस्थामा गाउँपालिका अध्यक्ष जिबछप्रसाद गच्छदारले फेरी शिलान्यासगर्ने तयारी गरेपछि वडाध्यक्ष सरदार र पालिका प्रमुख गच्छदारबिच विवाद भएको हो ।

गच्छदारले निर्माणाधिन भवनको दोहोरो शिलान्यासगरि अस्पताल निर्माणको श्रेय आफुले लिन जनतामा भ्रम छर्ने प्रयास गरिरहेको वडाध्यक्ष सरदारको दाबी छ । उहाँले सरकारले एकपालिका एक अस्पतालको नीति ल्याएपछि आफ्नै वडामा अस्पताल निर्माण गराउन दातासंग आफुले निकै परिश्रम र अनुनयबिनय गरेर जग्गा प्राप्ति गरेको तथा आफु समेत सहभागि भएर शिलान्यास गरेको अस्पतालको पालिका प्रमुखले फेरी शिलान्यास गर्ने तयारी गरेको दाबी गर्नुभयो ।

२०७८ सालमा उद्घाटनगर्ने तिनजना जनप्रतिनिधिमध्ये नसिमा बानु र गयानन्द सरदार २०७९ को निर्वाचनबाट निर्वाचित भएर सोहि पदहरुमा फर्किनुभएको छ भने गाउँपालिका प्रमुखमा गच्छदार निर्वाचित हुनुभयो । गाउँपालिकाले दोहोरो शिलान्यासगरे आफुहरुले प्रतिवाद गर्ने स्थानीय रमेश रायको भनाई छ ।

उता सो बिषयमा प्रतिक्रिया दिनुहुँदै पालिकाप्रमुख गच्छदारले दोहोरो शिलान्यास नगरिने बताउनुभयो । उहाँले पालिकाकै ठुलो प्रोजेक्टकोरुपमा अस्पतालको निर्माण शुरु भएकाले समान्य पुजापाठ भने गर्न लागिएको दाबी गर्नुभयो ।
गाउँपालिकाले निर्माण ब्यवसायिलाई काम सम्पन्न गरेअनुसारको बिलको भुक्तानी दिन समेत आलटाल गरेको असन्तुष्ट पक्षले जनाएको छ ।

शिलान्यासगर्ने तयारी गरिएपछि अनुगमन गर्न बांकी रहेको बहानामा भुक्तानी नदिएपछि एक महिनायता निर्माण ब्यवसायिले निर्माण कार्य समेत रोकेको जनाईएको छ ।

सम्बन्धित खबरहरु