भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ (शैक्षिक मेला) आयोजना गरिएको छ ।

इन्डो ग्लोबल फाउण्डेशन काठमाडौको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनको सहयोगमा सो शैक्षिक मेला आयोजना गरिएको हो । विराटनगरको सिटी प्यालेसमा सञ्चालित उक्त एक्सपोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको छ ।

एक्सपोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई भारतीय कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श (काउन्सिलिङ) गराईरहेका छन । त्यस क्रममा प्रतिनिधिहरूले विद्यार्थीलाई कलेजका विभिन्न संकाय, शुल्क विवरण, अन्य सम्भावित खर्च र रोजगारीको अवसर (जब प्लेसमेन्ट) सहितका आफ्ना विशेषताहरूबारे विस्तृत जानकारी गराईरहेका छन ।

एक्सपोमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन जनालाई ‘एस.जे.ई. ग्रुप अफ इन्स्टिच्युसन्स’ ले कलेज ट्युसन शुल्कमा शतप्रतिशत (१००%) सम्म छुट दिने कृष्णा एजुकेशन फाउण्डेशनका सञ्चालक कृष्ण जायसवालले जानकारी दिनुभयो ।

भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले विभिन्न सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै विराटनगरमै एकै छानामुनि सम्पूर्ण जानकारी उपलब्ध गराउन एक्सपो सफल भएको आयोजक इन्डो ग्लोबल फाउण्डेशन काठमाडौका निर्देशक सुदन चौहानले बताउनुभयो । एक्सपोमा सहभागी विद्यार्थीहरूमध्ये गोला प्रथा (लक्की ड्र) मार्फत दुई जनालाई एन्ड्रोइड मोबाइल समेत वितरण गरिने आयोजक समितिले जनाएको छ ।

मेलामा विराटनगर, इटहरी, धरान र इनरुवा लगायत आसपासका पालिकाका विद्यार्थीहरूले अवलोकन गरिहरको जनाईएको छ । एक्सपो आज (जेठ ४ गते) साँझ साढे ५ बजेसम्म चल्ने आयोजक समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु