३ चैत्र २०८२ । विराटनगर आँखा अस्पतालले चिकित्सक तथा नेत्र बिशेषज्ञहरुको शल्यक्रिया सीप विकासगर्ने उद्देश्यले डिजिटल ट्रेनिङ हबको शुरुआत गरेको छ ।

अस्पतालले आँखा उपचारको क्षेत्रमा कामगर्दै आएको अमेरिकी अन्र्तराष्ट्रिय संस्था अर्बिस ईन्टरनेश्नल संगको प्राबिधि सहकार्यमा ट्रेनिङ हबको शुरुआत गरेको हो । अस्पताल परिसरमा बिहिबार आयोजित कार्यक्रमकाबिच कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र अर्बिसका अध्यक्ष क्याथ्लिन ए शेर्बिनले तालिमको उद्घाटन गर्नुभयो ।

विराटनगर आँखा अस्पतालले शुरु गरेको डिजिटल ट्रेनिङ अन्तर्गत अस्पतालले नेपालसहित विश्वभरिका एमडी गरिसकेका आँखा चिकित्सकलाई दुर शिक्षा प्रबिधिको माध्यमबाट तालिम प्रशिक्षण उपलब्ध गराउने अस्पतालका प्रबन्धक कुमार पृथुले बताउनुभयो । उक्त ट्रेनिङ निरन्तर चलिरहने तथा सहभागिको ईच्छा अनुसार ३ महिनादेखि १ वर्षको तालिम प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

तालिम शुरुहुने जानकारी पाएका ५ जना विदेशी चिकित्सकहरु समेत तालिम लिने भनेर नाम दर्ता गराईसकेको अस्पतालले जनाएको छ । यसप्रकारको तालिमबाट वर्षदिनमा घटिमा पनि १५ देखि २० जना चिकित्सकहरु एआई लगायतका अत्याधुनिक प्रविधिको माध्यमबाट आँखाको शल्यक्रिया गर्नसक्ने गरिको दक्ष हुने बताईएको छ ।

ट्रेनिङ हब संचालानगर्न अस्पतालले यस अघि नै १५ जना चिकित्सकहरुलाई अर्बिसको सहयोगमा भारतमा प्रशिक्षक प्रशिक्षण तालिम समेत दिलाईसकेको जनाईएको छ । सो अवसरमा बोल्नुहुँदै मन्त्री लिम्बूले चिकित्सकको क्षमता अभिबृद्धिको सो तालिममा प्रदेश सरकार समेत ईच्छुक रहेको बताउँदै ट्रेनिङले भिजन २०३० लाई समेत सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्मनारायण चौधरीले नवप्रवर्तन प्रबिधि र क्षमता विकासलाई केन्द्रमा राखि स्थापना गरिएको डिजिटल ट्रेनिङ हबले भविष्यमा आँखा स्वास्थ्य सेवामा रुपान्तकारी प्रभावपार्ने तथा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो । सन २००६ मा स्थापना भएको विराटनगर आँखा अस्पतालले सामुदायिक आँखा उपचारको क्षेत्रमा उच्चस्तरको गुणस्तरिय सेवा उपलब्ध गराउँदै आएको छ ।

बितेको बर्षमात्र उक्त अस्पतालले ७८ हजार ३ सय ६४ आँखाका बिरामीहरुको उपचार गर्नुका साथै ७२ हजार ३ सय ४८ जनाको आँखाको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा.ललित अग्रवालले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु