रोयल ईन्फिल्ड मोटरसाईकलको ‘गोन क्लासिक ३५०’ मोडल सार्वजनिक भएको छ ।

रोयल इन्फिल्डको आधिकारिक बिक्रेता रोयल मोटर्सले विराटनगर–३, पिपलचोकमा आयोजित एक कार्यक्रमका बीच नयाँ मोडल ‘गोन क्लासिक ३५०’ सार्वजनिक गरेको हो । शोरुमा परिसरमा आयोजित कार्यक्रमकाबिच मोटर्सका व्यवस्थापक मुकेश यादवले रोयल ईन्फिल्डको उक्त नयाँ मोडल सार्वजनिक गर्नुभयो ।

सार्वजनिक गरिएको गोन क्लासिकमा प्रिमियम ह्वाइटवाल ट्युबलेस टायर, ट्युबलेस आल्मुनियम स्पोक ह्वील्स र आकर्षक अल–एलईडी लाइटिङ जस्ता विशेषताहरू रहेका छन् । यसैगरि सुरक्षाका लागि डुअल च्यानल एबीएस सहितको डिस्क ब्रेक, स्लिप एण्ड असिस्ट क्लच र नेभिगेसनका लागि ट्रिपर पड लगायतको उन्नत प्रबिधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । ७५० एमएमको होचो सिट र ‘एप–स्टाइल’ ह्यान्डल बारका कारण यो मोटरसाईकलले अत्यन्तै आरामदायी सवारी अनुभव दिने रोयल मोटर्सका ब्यवस्थापक यादवले बताउनुभयो ।

पर्पल हेज, सेक ब्ल्याक, ट्रिप टेल र रेभ रेड गरी चार आकर्षक रङमा उपलब्ध यस मोटरसाइकलको मूल्य ५ लाख ९८ हजारदेखि ६ लाख २ हजार रुपैयाँसम्म तोकिएको छ । क्लासिक, मेट्योर र हन्टर जस्ता सफल मोडलहरूपछि आएको यो नयाँ मोटरसाइकलले आफ्नो छुट्टै व्यक्तित्व झल्काउन चाहने राइडरहरूलाई आकर्षित गर्ने बिक्रेता कम्पनीले जनाएको छ ।

रोयल ईन्फिल्ड मोटरसाईकलका बिक्रेताहरुले बुधबार देशभरिका शोरुमहरुबाट एकै साथ यो मोडल सार्वजनिक गरेको जनाईएको छ ।

सम्बन्धित खबरहरु