विराटनगर ३ फागुन । मैथिली संस्कृतिसंग जोडिएको पर्वहरुलाई राज्यले अविलम्ब सुचिकृत गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

मैथिली विकास अभियानले आयोजना गरेको कार्यक्रममा बोल्ने विभिन्न जातिय तथा भाषिक संस्थाका पदाधिकारीले मैथिल संस्कृतिसंग जोडिएको अनेकौं पर्वहरु हालसम्म क्यालेण्डरमा समावेश नगरिएकाले पर्वहरुको अस्तित्व संकटमा परेको उनिहरुले बताएका छन । झण्डै २ दर्जन संस्थालाई सहभागि गराएर आयोजना गरिएको कार्यक्रमका सहभागि वक्ताहरुले भाषा संस्कृति देशको सम्पति रहेकालेपनि परापुर्वकालदेखि चलिआएका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व रहेको बताएका थिए ।

सो अवसरमा बोल्नुहुँदै मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले सरकारी क्यालेण्डरमा समावेश नगरिएपनि मैथिली संस्कृतिसंग जोडिएका अनेकौं महत्वपुर्ण पर्वहरु निष्ठा तथा मौलिक परम्परा अनुसार मनाउने गरिएको बताउनुभयो । उहाँले मैथिलीभाषि विभिन्न जातिय समुदायले मनाउने ति पर्वहरुको महत्व, मनाउने तिथि तथा विवरण संकलनगरि क्यालेण्डरमा अंकितगर्न नेपाल पञ्चाङ निर्णायक समिति,प्रदेश सरकार,संघीय सरकार तथा स्थानिय सरकारलाई समेत बुझाईने जानकारी दिनुभयो ।

तेली कल्याण समाज नेपालका अध्यक्ष डा।बालकृष्ण साहले देशभरिको कुल जनसंख्याको ६० प्रतिशत जनताले मैथिली संस्कृति अनुसारका चाडपर्वहरु मनाउने गरेपनि छैठ,जितिया र सीता जयन्ति सहितका थोरै मात्र पर्वहरु नेपाली क्यालेण्डरमा समावेश गरिएको बताउनुभयो । उहाँले मैथिली भाषि भन्दा थोरै जनसंख्या भएका कतिपय समुदायका पर्वहरुमा राष्ट्रिय बिदा दिने गरिएपनि एउटा ठुलो जनसमुदायले मनाउने पर्वहरुलाई उपेक्षा गर्न नहुने बताउनुभयो ।

मैथिली सेवा समितिका अध्यक्ष डा।एस।एन।झा ले संस्कृति लोप भए समुदायको अस्तित्व लोप हुने भएकाले यस्को संरक्षण आवश्यक रहेको बताउनुभयो । अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झा ले समुदायको संस्कृति तथा चाडपर्वहरु संरक्षण गर्ने सवालमा जनप्रतिनिधिहरु थप उत्तरदायि हुनुपर्ने बताउनुभयो । यादव सेवा समितिका महानगर अध्यक्ष कृष्णलाल यादवले कतिपय चाडपर्वमा सरकारले आवश्यकता भन्दा बढी दिन बिदा दिंदै आएकाले त्यस्तो बिदाहरु कटौतीगरि अन्य समुदायको चाडपर्वमा समायोजन गर्नुपर्ने धारणा राख्नुभयो ।

केवट कल्याण समाजका रविशंकर कामतले मैथिलभाषि समुदाय भन्दा कम जनसंख्या भएका कतिपय समुदायको पर्वमा राष्ट्रिय बिदा दिने गरिएपनि मैथिल भाषिको पर्वलाई उपेक्षा गरिएको बताउनुभयो । अप्पन ब्राह्मण समाजका अध्यक्ष अमरकुमार झा ले कतिपय जातिय समुदाय अशिक्षाका कारण अझपनि आफ्नो संस्कृति संरक्षणप्रति जागरुक हुन नसकेकाले त्यस्ता समुदायको पर्वहरु सुचिकृत गर्नपनि पहल गरिनुपर्ने बताउनुभयो ।

डिक्का महासंघका केन्द्रीय अध्यक्ष बिजय राय अमातले भाषा,संस्कृति तथा जातिय उन्नयनको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले चाडपर्वहरुको संरक्षणको सवालमा एकीकृत भएर पहल गर्नुपर्ने बताउनुभयो । नेपाल सुंडी समाजका अध्यक्ष सन्तोष साह,उपाध्यक्ष मंजु साह,सामाजिक तथा भाषिक अभियन्ता गंगाराम मण्डल,सामाजिक अभियन्ता राधे कामत र मैथिली विकास अभियानका निर्वतमान अध्यक्ष पंकज बर्मा लगायतले जितिया र सीता जयन्ति जस्ता महत्वपुर्ण पर्वहरुकादिन अविलम्ब राष्ट्रिय बिदा घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

छलफल कार्यक्रमबाट सुचिकृत गर्न सुझाव प्राप्त भएका पर्वहरुको महत्व र विवरण खुलाई छिट्टै सम्बन्धित निकायहरुमा बुझाईने मैथिली विकास अभियानका सचिव प्रशान्त कर्णले जानकारी दिनुभयो ।

कार्यक्रमबाट नेपाल पञ्चाङ निर्णायक समितिमा मैथिली ज्योतिषिहरु समेत सहभागि गराउन माग गर्ने तथा बैशाख शुक्ल नवमीका दिनपर्ने सीता जयन्तिका दिन विराटनगरमा विभिन्न जातिय संस्थाहरु एकीकृत भएर मौलिक पोशाकमा झाँकी सहितको प्रभातफेरी निकाल्ने निर्णय समेत भएको छ ।

सम्बन्धित खबरहरु