असार २९ । मोरङको कटहरी गाउँपालिकामा बन्धाकोबी लोड गरिएको गाडीबाट प्रहरीले तिनहजार किलो बढी गाँजा बरामद गरेको छ ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका ३ बाट शनिवार मध्यराति तरकारी लोड गरिएको ट्रक चेकजाँच गर्दा १ सय ५ बोरा गाँजा बरामद गरेको हो । बिशेष सूचनाको आधारमा पुगेको प्रहरीले शंकास्पद ट्रकलाई रोकेपछि चालक ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
सो क्रममा ट्रकमा चेकजाँचगर्दा बन्धा कोबिको बोरामुनि लुकाई राखिएको गाँजाको बोराहरु बरामद भएको थियो । गाँजा तस्करहरुले को १ ख ४५१८ नम्बरको टाटा कम्पनीको टू टन ट्रकको पहिलो लाईनमा गाँजाको बोराहरु राखेर त्यसमाथि र पछाडिको भागमा बन्धाकोबीको बोराहरु राखेर लुकाई छिपाई राखेका थिए । बरामद गाँजाको तौल ३ हजार १ सय ५० किलो रहेको प्रहरीले जनाएको छ ।
फरार चालक तथा गाँजा तस्करकोे खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुँडालले बताउनुभयो । बरामद गाँजा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा पहाडी जिल्लाबाट गाँजा ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
यसअघि असार २५ गते धनपालथान गाउँपालिका १ गदिया खोला नजिकैको उँखुबारीबाट समेत प्रहरीले ८ सय २ किलो गाँजा बरामद गरेको थियो ।
