चैत ११ । लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्रात्मक ब्यवस्था हुन नसक्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
नेकपा एमाले २ नम्बर वडा कमिटिले स्थानीय सनातन धर्म सेवा समितिको सभाहलामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन । सो अवसरमा बोल्नुहुँदै विराटनगर महानगरपालिका २ नम्बरका वडाध्यक्ष कुमार पोखरेलले पछिल्लो केही समययता केही अवसरबादीहरुले गणतन्त्रको बिरुद्धमा चलखेल गरिरहेको बताउनुभयो ।
उहाँले यस्तो प्रबृति बिरुद्ध ब्यापक जनचेतना फैल्याउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । नेपाली काँग्रेसका नगरसभापति दिपक चापागाईंले लामो संघर्ष र बलिदानीपछि प्राप्त भएको गणतन्त्र यत्तिकै उल्ट्याउने प्रयास दिवा स्वप्न सरह रहेको बताउनुभयो । उहाँले केहि ब्यक्तीहरु राजाको पक्षमा देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको बताउनुभयो ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उहाँको भनाई थियो । नेकपा एमालेका निवर्तमान मोरङ अध्यक्ष बाबुराम कार्कीले वर्तमान परिवेशमा भएका असन्तुष्टिलाई टेकेर राजावादिहरु सल्बलाएपनि त्यसको अर्थ नरहेको बताउनुभयो । लोकतन्त्र र गणतन्त्र स्थापनाकालागि लडेका दलहरु एकढिक्का भए मात्र पनि राजा पक्षधरको माग पानीको फोकामा परिवर्तन हुने धारणा राख्नुभयो ।
कार्कीले सेना,अन्तर्राष्ट्रिय परिस्थिति र जनता समेत तिनै पक्षले चाहेमात्र ब्यवस्था परिर्वतन सम्भव हुने बताउँदै अहिलेको परिस्थितिमा त्यो सम्भव नभएको दाबी गर्नुभयो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष सागर थापाले लामो समयको आन्दोलन र बलिदानीबाट स्थापित गणतन्त्र केही तथाकथित राजावादीहरुले चाहँदैमा परिवर्तन गर्न नसक्ने बताउनुभयो ।
उहाँले पछिल्ला पुस्ताका केहि युवाहरु भ्रमित गरिएकाले उनिहरुलाई गणतन्त्रको महत्व बुझाउनु आवश्यक रहेको समेत बताउनुभयो । थापाले गणतन्त्र पक्षधरहरु एकठाउँमा छौं भन्ने सन्देश दिनुका साथै नेतृत्वलाई खबरदारी र जनताबिच सचेतना फैल्याउनु आवश्यक रहेको समेत बताउनुभयो ।
उहाँले आवश्यकता परे गणतन्त्र पक्षधरहरु एक भएर प्रतिवाद गर्ने समेत चेतावनी दिनुभयो । देशभरिका वडाहरुमा एकैसाथ गणतन्त्रको पक्षमा जनचेतनामुलक अभियान संचालनगर्ने पार्टीको अभियान अन्तरगत कार्यक्रम गरिएको २ नम्बर वडा कमिटी सचिव प्रवीण कर्णले जानकारी दिनुभयो ।
नेकपा एमाले २ नम्बर वडा कमिटिका अध्यक्ष विज्ञान चापागाईको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।