प्रकृतिमा असंख्य बनस्पतिहरु छन ति मध्ये केहि बनस्पतिहरुको आकृति र प्रकृति आश्चर्यजनक छ ।

बनस्पतिहरुकै श्रृंखलामा रहेको एउटा फुललाई हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको प्रतिककोरुपमा सम्मान गर्छन । बनस्पतिय नाम कैनन बल भनिने रुखमा फुल्ने फुल शिवलिङ आकृतिको हुन्छ ।

कैनन बल ट्री भनिने यस रुखमा फुल्ने फुलको आकार प्रकारलाई शिवलिङ र शेषनागको आकृतिसंग तुलना गरिन्छ । यस फुलको मध्य भागमा शिवलिङ र शिवलिङमाथि शेषनागले छत्रछायाँ दिईरहेको जस्तो भान हुन्छ । यस फुलको आकृति प्रकृति दुवै बिशेष भएकाले हिन्दू धर्मावलम्बीहरु यस रुखलाई देवबृक्षकोरुपमा पुजा र सम्मान गर्छन ।

नेपाल तथा भारतमा बिशेषगरि भगवान शिवको मन्दिरहरुमा यस फुलको रुख लगाउने गरिन्छ । विराटनगरको विराटेश्वर शिव मन्दिरमा यस फुलको एउटा रुख छ । नेपालमा दुर्लभ रहेको यस फुलका बिषयमा धेरै ब्यक्ती जानकार छैनन ।

नेपालमा यस फुललाई शिवलिङको फुल भनिन्छ भने भारतमा शिवकमल,नागालिङम,नागलिङ पुष्प,नागमल्ली र मल्लिकार्जुन आदि विभिन्न नामले चिनिन्छ । विक्रमसम्बत २०५० सालमा तत्कालिन राजा वीरेन्द्र दक्षिण भारत भ्रमणमा गएका बेला त्यहाँका शंकराचार्यले राजा वीरेन्द्रलाई यस फुलको एउटा विरुवा उपहारस्वरुप प्रदान गरेका थिए ।

उक्त विरुवा राजा वीरेन्द्रले जनकपुरधामस्थित जानकी मन्दिरको शतबार्षिकी समारोहको अवसरमा विवाह मण्डप परिसरमा रोपेका थिए । उक्त विरुवाले हाल विशाल बृक्षको स्वरुप ग्रहण गरेको छ । यस रुखबाट बिउ संकलनगरि जनकपुरका बन प्राबिधिकहरुले नयाँ बिरुवाहरु उत्पादनगरी विभिन्न मन्दिर तथा ईच्छुकहरुलाई उपलब्ध गराईरहेका छन ।

यसरुखको फल भने फुटबल आकृतिको हुन्छ जुन निकै नै उपयोगि हुन्छ । लोक चिकित्सामा जरोका विरामीलाई यस फलको गुदीको जुश खुवाउने गरिन्छ । यस्को गुदीमा एन्टीबायोटिक,एंटीफंगल,एंटिसेप्टिक र एनाल्जेसिक गुण हुन्छ ।

यस रुखको फुल पत्ता,फल र छाला सर्दी र पेट दुख्ने रोग निवारणका निम्ति प्रयोग गरिन्छ । शिवलिङ्गी रुखको पातले बढी मात्रामा कार्बन डाईअक्साईड सोशेर अक्सिजन उत्र्सजन गर्ने भएकालेपनि यस रुखको बिशेष महत्व छ । यस रुखको उत्पति अमेरिकामा भएको बताईन्छ । बर्षाबनमा पाईने यो रुख अमेजनको जंगल हुँदै भारत र नेपाल आईपुगेको हो । शिवलिङको रुख दक्षिणपुर्व एशियामा पनि पाईन्छ ।

आध्यात्मिक आस्था मात्र नभई वैज्ञानिक तथ्यसंग समेत जोडिएको यस रुखको संरक्षण र प्रर्बधन आवश्यक छ ।

सम्बन्धित खबरहरु