विराटनगर २३ ज्येष्ठ २०८३ । मैथिली विकास अभियान तथा मैथिली अनलाइनको संयुक्त आयोजनामा विराटनगरमा ‘गीत–नाद मैथिली लोकगीत प्रतियोगिता’ को स्वर परीक्षण (अडिसन) सम्पन्न भएको छ ।

विराटनगरस्थित संगम पार्टी प्यालेसमा शनिबार भएको अडिसनबाट विभिन्न १२ वटा समूहले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अडिसनमा मोरङ र सुनसरीका विभिन्न ३५ वटा महिला गीत गायन समूहले प्रतिस्पर्धा गरेको मैथिली विकास अभियानका उपाध्यक्ष कल्पना दासले जानकारी दिनुभयो । प्रतियोगितामा संगीत प्रशिक्षक विद्या मिश्रा, लोकगायक तथा संगीतकार भगवान झा र गायक राजीव मिश्राले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । अडिसनका क्रममा सहभागीहरूलाई मैथिली भाषाको मौलिक लोकगीत गाउन लगाइएको थियो ।

मैथिल संस्कृतिमा प्रत्येक संस्कारहरू लोकगीतविना पूरा नहुने र समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारगत गीतहरू गाउने चलन रहेको छ । तर, बढ्दो आधुनिकताको प्रभावका कारण ती संस्कार गीतहरू लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

अडिसन चरण पार गरी फाइनलमा पुग्न सफल समूहहरूमा कुपन नम्बर ३४ का जया मल्लिक र ममता कर्ण प्रथम, कुपन नम्बर ७ का अनिता कर्ण र भाग्यश्री झा दोस्रो तथा कुपन नम्बर ३३ का कविता मेहता र रिद्धि, सिद्धि तेस्रो भएका छन् । यसैगरी चौथो स्थानमा कुपन नम्बर ३५ का रञ्जनाकुमारी झा, कञ्चना चौधरी, गीता दास र बिना कायस्थ, पाँचौँ स्थानमा कुपन नम्बर १० का अमृता कर्ण र रेणु कर्ण, छैटौँ स्थानमा कुपन नम्बर ३२ का निर्मला सहनी र तारा राय तथा सातौँ स्थानमा कुपन नम्बर १ का संगीता कर्ण र अञ्जला मण्डल चयन भएका छन् ।

त्यस्तै आठौँ स्थानमा कुपन नम्बर ३१ का रोजी झा र सारिका झा, नवौँ स्थानमा कुपन नम्बर २८ का किरण कुमारी झा, विभा झा र प्रियंका झा, दसौँ स्थानमा कुपन नम्बर २१ का मीरा शर्मा, आशा शर्मा र शिला मण्डल, एघारौँ स्थानमा कुपन नम्बर ३० का स्वाती कर्ण र अञ्जली कर्ण तथा बाह्रौँ स्थानमा कुपन नम्बर १८ का चन्दा शर्मा, किरण शर्मा र शिलादेवी महतो रहँदै फाइनलको यात्रा तय गरेका छन्।

फाईनलमा अडिसन चरण पार गरेका १२ वटा समुहबिच प्रतिस्पर्धा गराएर प्रथम,दोस्रो र तेश्रो छनौट गरिने आयोजक समितिले जनाएको छ । आयोजक समितिले सामाजिक संजालको माध्यमबाट समेत एकजनालाई बिजेता घोषणा गर्ने जनाएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी ज्येष्ठ ३० गते शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुनेछ । फाइनलमा मैथिल संस्कृतिका गीत–संगीतका साथै नृत्यहरू समेत प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट भई प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः नगद १५ हजार, ११ हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित खबरहरु