कटहरी, पौष १६ — कटहरी वडा अध्यक्ष कप २०८२ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा कटहरी वडा नं. ३ ले इटहरी उपमहानगरपालिकालाई १८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
पौष १६ गते सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कटहरी वडा नं. ३ ले २० ओभरमा १८२ रन बनाउँदै इटहरीलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कटहरीका कप्तान निरज मुखियाले ४६ बलमा ६० रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए, जसमा ५ चौका र ३ छक्का समावेश थिए। त्यस्तै अभिषेक कार्कीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ६२ रन बनाउँदै ६ चौका र ४ छक्का प्रहार गरे।
यी दुई खेलाडीको उत्कृष्ट प्रदर्शनको मद्दतले कटहरी वडा नं. ३ ले बलियो योगफल तयार गर्न सफल भयो। इटहरीको बलिङतर्फ विकल्प आचार्यले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए भने अन्य बलरहरू प्रभावकारी हुन सकेनन्।
१८३ रनको लक्ष्य पछ्याएको इटहरी उपमहानगरपालिकाले अन्तिमसम्म कडा संघर्ष प्रस्तुत ग¥यो। इटहरीका रबिन मण्डलले ५३ बलमा ७० रन बनाउँदै ३ चौका र ५ छक्का प्रहार गरे भने भूपाल लुइटेलले २० बलमा २१ रनको योगदान दिए। तर कटहरीका कप्तान निरज मुखियाको उत्कृष्ट बलिङले इटहरीको लक्ष्य पूरा हुन सकेन। मुखियाले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए।
रोमाञ्चक बनेको खेलमा अन्ततः कटहरी वडा नं. ३ ले १८ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्यो। उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि कटहरी वडा नं. ३ का कप्तान निरज मुखियालाई म्यान अफ द म्याच घोषित गरिएको छ। म्यान अफ द म्याच ट्रफी मोरङ जिल्ला क्रिकेट संघका सदस्य मनोज कुमार मण्डलले प्रदान गरेका थिए।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पौष १७ गते होराइजन क्रिकेट एकेडेमी,विराटनगर र अर्जुनधारा (झापा) बीच हुनेछ।

