गैरनाफामूलक संस्था आभा फाउण्डेशनले विराटनगरका सीमान्तकृत ऋषिदेव समुदायका ४० जना महिलाहरूलाई तीर्थयात्रा गराएको छ ।
विराटनगर महानगरपालिकामा बसोबास गर्ने ती महिलाहरूलाई फाउण्डेशनले सप्तरी, धनुषा र महोत्तरीका सुप्रसिद्ध तीर्थस्थलहरूको भ्रमण गराएको हो ।
तीर्थयात्राका क्रममा सहभागीहरूले सप्तरीको कंकालिनी मन्दिर, जनकपुरको जानकी मन्दिर र राम मन्दिरका साथै महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गरेका थिए ।
सो अवसरमा जानकी मन्दिरका महन्थ रामरोशन दासले सहभागी महिलाहरूलाई जलपानको व्यवस्था गर्नुका साथै एक–एक थान साडी प्रदान गरेर सम्मान समेत गर्नुभएको थियो । सम्मान प्रदानगर्दै महन्थ दासले आफुलाई माईत आएको छोरीलाई स्वागत गर्नपाएको झैं अनुभुति भएको बताउनुभयो ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको निजी आर्थिक सहयोगमा यो तीर्थयात्रा सम्पन्न भएको हो । फाउण्डेशनकी संस्थापक अध्यक्ष आभा अनुपमाका अनुसार एक कार्यक्रमका बीच उपप्रमुख कार्कीले सीमान्तकृत महिलाहरूलाई तीर्थाटन गराउने इच्छा व्यक्त गरेपछि फाउण्डेशनले आवश्यक संयोजन गरेको हो । सदियौंदेखि छुवाछुत र सामाजिक विभेदमा पारिएको ऋषिदेव समुदायलाई सम्मान र सकारात्मक सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष अनुपमाले बताउनुभयो ।

आभा फाउण्डेशनले विपन्न, पिछडिएका र सीमान्तकृत वर्गको शिक्षा, स्वास्थ्य र महिला उत्थानको क्षेत्रमा काम गर्दै आएको छ।

