बैशाख ११ । मोरङको कटहरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

स्थानिय जनप्रिय माध्यमिक विद्यालय परिसरमा आयोजित बिशेष कार्यक्रमकाबिच सो पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । २०८३ वैशाख ११ गतेसम्म १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्रै राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै प्रकारका खोपहरु लगाएको सुनिश्चितता गरिएसँगै सो घोषणा गरिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार पालिकाका ७ वटै वडाहरु यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको आधारमा गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

घोषणा सभामा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य सन्तोष राजवंशी र कटहरीका अध्यक्ष देवराज चौधरीले पूर्ण खोप पालिका घोषणाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा बोल्दै पालिका अध्यक्ष चौधरीले सबैको सामूहिक सहयोगबाट यो उपलब्धि हासिल भएको बताउँदै आगामी दिनमा पनि कुनै बालबालिका खोपबाट नछुटुन भनेर निरन्तर निगरानी आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही कार्यक्रममा ६० वर्षे उमेर हदका कारण सेवा निवृत्त हुनुभएका दुई जना स्वास्थ्य स्वयंसेविका सरस्वती सरदार र राजेश्वरी जोशीलाई गाउँपालिकाले जनही नगद ५० हजार रुपैयाँसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको थियो । साथै, विभिन्न वडाका वडाध्यक्षहरु र स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सन्तोष राजवंशीले नवगठित सरकार जनताको अपेक्षा अनुसार जनमुखी शासन र प्रशासनका लागि सक्रिय रहेको बताउनुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सके मात्र मुलुक छिट्टै समुन्नत हुने विचार व्यक्त गर्नुभयो ।

स्थानीयस्तरमा चर्चामा रहेको विराटनगर–रंगेली हुलाकी सडकको समस्याबारे बोल्दै सांसद राजवंशीले सडक निर्माणको ढिलाइबारे आफूले प्रधानमन्त्री बालेन समक्ष कुरा राखिसकेको र निर्माण कार्य अविलम्ब अघि बढाउन पहल भइरहेको जानकारी दिनुभयो । यसअघि पालिका उपाध्यक्ष सीतादेवी राजवंशी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले हुलाकी सडक नबन्दा जनताले ठूलो सास्ती खेप्नुपरेको भन्दै यथाशीघ्र सडक निर्माणका लागि पहल गर्न सांसद राजवंशीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमकाबिच स्थानीय भगवती विद्या मन्दिर र जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

सम्बन्धित खबरहरु