विराटनगर । कलवार समुदायले श्रद्धाभक्तीपुर्वक आफ्ना कुलदेउता भगवान बलभद्रको जन्मजयन्ती मनाउँदैछन ।

प्रत्येकबर्ष भाद्रशुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाउने गरिन्छ । जन्मजयन्तीको अवसरमा विराटनगरस्थित बलभद्र सेवा समितिले विविध कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा समितिले प्रभातफेरी,कलशयात्रा र पुजापाठको आयोजना गरेको छ । जयन्तीको अवसर पारेर समितिले शुक्रबार बिहान प्रभाफेरी निकालेको छ ।

स्थानिय रामजानकी मन्दिर परिसरबाट निकालिएको प्रभातफेरीका सहभागिले मेनरोडबाट गोश्वारा रोड हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो । यस्तै सोहि ठाउँबाट निकालिएको महिलाहरुको कलशायात्राले समेत नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै केशलिया रोडमा रहेको निर्माणाधिन बलभद्र मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

सामजिक एकताको सन्देश सहित बलभद्र जयन्ती मनाउने गरिएको समितिका सदस्य सोहनप्रसाद भगतले बताउनुभयो । भगवान श्रीकृष्णका दाजुकोरुपमा वर्णित बलभद्रलाई कलवार समुदायले आफ्ना बंशपिता र कुलदेउतको रुपमा मान्दै आएका छन । कलबार समुदायको बसोबास रहेको नेपाल,भारत र भुटान सहितका देशहरुमा समेत बलभद्र जयन्ति मनाउने गरिएको छ ।

विराटनगरको केशलियारोडमा बलभद्र मन्दिर निर्माणको क्रममा छ । सो ठाउँमा समाजसेवी ध्रुवनारायण लाल कर्णले २०५६ सालमा दान दिनुभएको २ कट्ठा जग्गामा धर्मशाला र मन्दिरको निर्माण कार्य प्रगतिमा रहेको समितिका अध्यक्ष अधिवक्ता पुनमकुमार गुप्ताले जानकारी दिनुभयो । मन्दिरको निर्माण भने आफुले आफ्नै खर्चमा सम्पन्नगर्न लागेको गुप्ताले बताउनुभयो ।

विराटनगर महानगरपालिकामा कलवार समुदायका २ सय घरधुरी र झण्डै २ हजार जनसंख्या रहेको जनाईएको छ । यो समुदायको मातृभाषा भोजपुरी हो ।

सम्बन्धित खबरहरु