विराटनगर । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आगिंक क्याम्पस बिराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा पाँचजनालाई पुरस्कृत गरेको छ ।
क्याम्पसले आफ्नो ६८ औ स्थापना दिवसको अबसर पारेर तीनजना प्राध्यापक र दुईजना कर्मचारीलाई पुरस्कृत गरेको हो । प्राध्यापकतर्फ क्याम्पसले प्राडा देवेन्द्र अधिकारी,सह प्राध्यापक महेन्द्र नारायण कर्ण र उप प्राध्यापक नन्दकिशोर अग्रवाललाई सम्मान गरेको हो ।
यस्तै कर्मचारीतर्फ निरञ्जन पोखरेल र शान्तिदेवी कामतलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच क्याम्पस प्रमुख डाक्टर बाबुराम तिम्सिना र पुर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले पुरस्कार तथा सम्मान बितरण गर्नुभयो ।
पुरस्कृत प्राध्यापक र कर्मचारीलाई नगद,दोसल्ला,फुलमाला र कदरपत्रसहित सम्मान गरिएको छ । क्याम्पसले उत्कृष्ठ प्राध्यापक र कर्मचारी छनौटगर्न प्राध्यापक अशोककुमार दासको संयोजकत्वमा तीन सदस्यीय समिती गठन गरेको थियोे ।
सो अवसरमा बोल्ने त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका सभापति डाक्टर प्रमोद खेरवार र त्रिवि कर्मचारी संघका कार्यवाहक क्याम्पस एकाई अध्यक्ष अनिल यादव लगायतले क्याम्पसमा नयाँ भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
बिक्रम सम्वत २०१२ सालमा मोरङ इन्टरमिडिएट कलेजको रुपमा स्थापना भएको महेन्द्र मोरङ क्याम्पसमा व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र विज्ञानका विभिन्न बिषयको अध्ययन अध्यापन हुने गरेको छ । क्याम्पसमा ९ हजार बढी विद्यार्थीहरु अध्ययनरत रहेको जनाईएको छ ।
क्याम्पसमा विभिन्न तहकागरि २ सय प्राध्यापक र ५५ कर्मचारी कार्यरत रहेको प्राध्यापनरत विजय खतिवडाले जानकारी दिनुभयो ।