कटहरी गाउँपालिकास्तरीय दोस्रो अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जनपथ एकेडेमी विराटनगरले जितेको छ ।

कटहरी ६ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल प्रतिस्पर्धामा लखन्तरी जुनियर फुटबल क्लब ग्रामथानलाई ३–१ गोल अन्तरले पराजित गर्दै जनपथ एकेडेमीले उपाधि चुमेको हो । उपाधि जितेसँगै जनपथले नगद १ लाख १ हजारसहित उपाधि कप हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको लखन्तरी जुनियरले नगद ७५ हजारको पुरस्कार राशि प्राप्त गरेको छ ।

​रोमाञ्चक फाइनल खेलको दसौँ मिनेटमा जनपथका जर्सी नम्बर २३ का खेलाडी शिवा राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २३औँ मिनेटमा जर्सी नम्बर ११ का बिनिस परियारले गोल गर्दै जनपथको अग्रता दोब्बर बनाए । खेलको ३५औँ मिनेटमा जर्सी नम्बर १० का कमल श्रेष्ठले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । यता लखन्तरी जुनियरका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी हरि खवासले ४२ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

​विजेता र उपविजेता टिमलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पुरस्कार वितरण गर्नुभयो । कटहरी गाउँपालिकाको आयोजनामा वैशाख ६ गतेबाट सुरु भएको दोस्रो संस्करणको अध्यक्ष कप प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न १६ वटा टिमले सहभागिता जनाएका थिए ।

​प्रतियोगितामा पि.के.एफ.सी मोरङ, फाइभस्टार क्लब इटहरी, गोल्डेन स्टार युवा क्लब सुनसरी, मातृभूमि समाज सेवा क्लब कानेपोखरी र विराटनगर–१९ को फुटबल क्लबको सहभागिता थियो । यसैगरी नेताचोक टाइगर क्लब, नेपाल प्रहरीको मोरङ टोली, नवदुर्गा स्पोर्टिङ क्लब, चौधरीचोक युवा क्लब तथा धनपालथानको फुटबल टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै योङ हार्ट ग्रुप, बीवाईसी युवा क्लब, बनसखण्डी युवा क्लब र डिग्रि फुटबल क्लबले समेत सहभागिता जनाएको आयोजक समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु